राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनले निर्वाचनको मिति घोषणाको अधिकार आयोगलाई दिएको छ ।
२३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
२१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुर्याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।
२९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यही दिन ४ बजेबाट मतगणना सुरु हुनेछ । यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ ।
संघीय सदन गठन भएको एक महिना भित्र दुवै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग परामर्श गरेका थिए । संवैधानिक प्रावधानहरुका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक मितिमा गराउनुपर्ने छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्गको वा समूदायको प्रतिनिधित्व हुनुपर्ने गरी चयन हुनुपर्ने भनेकाले दुवै चुनाव एकै दिन सम्भव नभएको हो । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको एक साताभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिनुपर्ने कानुनी प्रावधान छ ।