चालू आर्थिक वर्ष (आव) २०७४/७५ को अर्धवार्षिक अवधिमा ५४ अर्ब रुपैयाँबराबरको घरायसी वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि पुससम्ममा रू. ५४ अर्ब ३० करोड ८१ लाखको घरायसी वस्तु आयात भएको हो । गत आव २०७३/७४ को सोही अवधिमा रू. ३८ अर्ब १५ करोड ३७ लाखको त्यस्ता सामग्री आयात भएको थियो । गत आवभन्दा चालू आवमा घरायसी सामग्रीको आयात ४२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा रू. ५ खर्ब ३४ अर्बको वस्तु भित्रँदा त्यसको १० दशमलव १४ प्रतिशत रकम घरायसी वस्तु आयातमै खर्च भएको हो । घरायसी सामग्री आयात हुँदा रू. ४ अर्ब ९१ करोड राजस्व सरकारको खातामा जम्मा भएको छ । अघिल्लो आवमा यस्ता सामग्रीको आयातबाट रू. ३ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो । गत आवको सोही अवधिको तुलनामा वस्तुको आयात बढेकाले त्यसबापतको राजस्वसमेत बढेको छ ।
गत आव २०७३/७४ मा घरायसी सामग्री आयातमा रू. ८२ अर्ब १५ करोड ५६ लाख बाहिरिएको थियो भने त्यसबाट रू. ८ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको थियो । घरायसी सामग्री सबैभन्दा बढी भारत र चीनबाट आयात भएका छन् । साथै थाइल्याण्ड, अमेरिका तथा यूरोपेली मुलुकबाट पनि यस्ता सामग्री भित्रिने गरेको छ ।
नेपालमा धेरै आयात हुने वस्तुको सूचीको पहिलो नम्बरमा इन्धन छ । चालू आवको ६ महीनाको अवधिमा रू. ७८ अर्ब ७९ करोडको इन्धन आयात भएको छ । इन्धन र घरायसी सामग्रीपछि फलाम तथा स्टील सबैभन्दा बढी आयात भएको छ । यो अवधिमा रू. ५१ अर्बको फलाम तथा स्टील आयात भएको छ ।
यसबाहेक यातायातका साधन र तिनका पाटपुर्जामा रू. ४१ अर्ब र मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामग्रीमा रू. ३५ अर्ब विदेशिएको छ ।