दिनको सय रुपैयाँ कमाउने करिमुल हकलाई ज्यान पाल्नै हम्मे-हम्मे थियो। भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लाको धलाबडी गाउँका करिमुललाई परिवार लालनपालनमै धौ-धौ थियो।

नाजुक आर्थिक अवस्थाका बाबजुद उनले ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गरेर धेरैको ज्यान जोगाएका छन्। चिया बगानमा काम गर्ने मजदुर भारतमा एम्बुलेन्स दादाका नामले परिचित छन्। हालसम्म बाइक एम्बुलेन्सबाट निःशुल्क सेवा दिएर ४ हजारको ज्यान बचाएका करिमुलले तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीबाट पद्मश्री सम्मान समेत पाएका छन्।

दिनको १ सय रुपैयाँ कमाउने करिमुल हकलाई तातो भात र निद्राको साथ सबैभन्दा प्यारो थियो। सन् १९९५ को गर्मी रातमा मजदुरी गरेर आएका करिमुल हक खाना खान मात्र के बसेका थिए उनका भतिज  दौडेर आए। भतिजले अत्तालिँदै हजुरआमा बेहोस भएको कुरा सुनाए। करिमुल खाना छोडेर दौडिए। भतिजकहाँ पुग्दा आमा बेहोस अवस्थामा थिइन्। तीन घन्टासम्म अस्पताल पुर्‍याउन कुनै साधन जुटेन। करिमुलकी आमाले संसार छाडिन्।

करिमुल हकलाई त्यो जति पीडादायी क्षण केही भएन। त्यही दिन उनले गाउँमा एम्बुलेन्स ल्याएरै छाड्ने अठोट लिए। ‘मैले मेरी आमालाई बचाउन सकिन, तर आमाको जस्तो हालत अरुको हुन नदिन मैले त्यही दिन एम्बुलेन्स सेवा सुरु गर्ने अठोट लिएँ,’ उनले भने। उनले सुरुमा बिरामीलाई रिक्सा, ठेलागाडा, बसमा लिएर अस्पताल पुर्‍याउन थाले।

त्यसपछि करिमुलले मजदुरी गरेरै भए पनि केही रुपैयाँ वचत गरी एउटा पुरानो मोटरसाइकल किने। त्यसपछि उनले मोटरसाइकलबाट बिरामीलाई अस्पताल पुर्‍याउन थाले। आफ्नो गाउँ मात्र नभएर वरिवरिका २० गाउँका बिरामीलाई उनले १५ वर्षभन्दा अगाडिदेखि निःशुल्क बाइक एम्बुलेन्स सेवा दिँदै आएका छन्।

उनको यो सेवाका करण उनी एम्बुलेन्स दादाका रुपमा परिचित छन्।

उनी मोटरसाइकलको पछाडि बिरामी राखेर कपडाले आफ्नो पिठ्युँमा बाँध्छन् र ४०-४५ किलोमिटर सम्मको कठिन बाटो हुँदै बिरामीलाई अस्पताल पुर्‍याउँछन्। घना जंगल र फराकिला खोलाको पर्वाह नगरी उनी हतारमा बिरामीलाई अस्पताल पुर्‍याउँछन्। उनलाई केबल एउटै चाहना हुन्छ, आफ्नो एम्बुलेन्समा बसेको बिरामीले अस्पतालमा नपुग्दै मृत्युवरण नगरोस्।

गत वर्ष करिमुलले स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानित गरेको थियो। उनको स्वास्थ्य सेवामा लगन देखेर चिया बगानका मालिकले समेत उनलाई बिरामी बोक्न प्रोत्साहन गरिरहेका छन्। करिमुलका दुई छोरा छन् राजु र राजेश। करिमुल उनीहरुले समेत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरुन् भन्ने चाहान्छन्।

‘मेरो गाउँमै स्वास्थ्य संस्था बनाउने लक्ष्य छ, ता कि उपचारका लागि मानिसहरु धेरै टाढा धाउनु नपरोस् र मेरो यो काममा दुई छोराले समेत मद्दत गरुन्,’ उनले भने।

धलाबरीका बासिन्दा उनलाई भगवान मान्छन्। ‘करिमुल दादा हाम्रा भगवान हुन्, उनले धरैको ज्यान बचाएका छन्। उनी थिएनन् भने मर्नुको विकल्प धलाबरीका बासिन्दालाई हुँदैनथ्यो,’ गाउँले बुलो ओरानले भने।

करिमलको एउटै सपना छ, सुविधासम्पन्न एम्बुलेन्स गाउँमा सञ्चालन गर्ने। उनी भन्छन्, ‘सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन भयो भने गाउँलेलाई धेरै राहत हुन्छ।’

उनको चाहना हालसम्म त पूरा भएको छैन तर उनको बिरामी बचाउने लगाव देखेर बजाज कम्पनीले उनको मोटरसाइकलालाई अलि सुविधासम्पन्न बनाइदिएको छ। बजाजले उनको मोटरसाइकलमा वाटरप्रुफ स्ट्रेचर राखिदिएको छ भने अक्सिजन सिलिन्डर समेत जडान गरिदिएको छ।

सुविधा सम्पन्न एम्बुलेन्स आएमा के उनले बाइक एम्बुलेन्स चलाउन छाड्लान त गाउँलेको यो जिज्ञासामा उनी जवाफ दिन्छन, ‘मोटरसाइकल एम्बुलेन्स मेरी आमा हुन्। आमालाई म कसरी छाड्न सक्छु र?’ उनी थप्छन्, ‘बाइक एम्बुलेन्स साँघुरो बाटोमा काम लाग्छ, म बाँचुन्जेल मोटरसाइकल एम्बुलेन्सको सेवा रोकिँदैन।’ याे खबर हामीले स्वास्थ्य खबरपत्रिकाबाट लिएका हाैं।

फेसबुकबाट तपाईको प्रतिक्रिया