नेपाल र चीनको सिमानामा हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको खबर बाहिरिएपछि त्यसले तरंग निम्त्यायाे। सरकारले साे क्षेत्र चीनकै रहेकाे बताएको छ।
चीनले पनि सीमा नमिचेकाे बताउँदै आएकाे छ। स्थानीय जनप्रतिनिधि र बासिन्दा भने भवन बनाइएकाे क्षेत्र नेपालकै रहेकाे दाबी गर्छन् अझै पनि। यही विषयमा स्थलगत अनुगमन गर्न गएको टोलीका प्रमुख हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरन्जीवि गिरीसँग गरिएको कुराकानी ।
अनुगमन गर्न जानु भयो, वास्तविकता के हो ?
वर्षको एकपटक सीमा स्तम्भको अनुमगन गर्नु नियमित कार्य हो । त्यही अन्तर्गत यसपालि टोली ललुङजोङमा पनि पुगेर आएको हो । यसअघि चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको विषय बाहिर आएपछि स्थलगत अनुगमनमा गएका हाैँ । हाम्राे टोलीले ललुङजोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालेकाे छ । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा भिडाउँदा सो भवन चिनियाँ भूमिमै रहेको देखिएको हो ।
ललुङजोङमा भएको गतिविधि खास के हाे ?
हावाहुरीकाबीच ललुङजोङमा नेपाली र चिनियाँ अधिकारीबिच करिब आधा घण्टा दुई देशकाे नक्सा भिडाउने काम भयो । नक्सा भिडाउँदा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको हो ।
म प्राविधिक नभए पनि सिधा रुपमा नक्शा हेर्दा सो स्थान नेपाली भूभागमा पर्दैन । हामीले हेर्ने नै नक्शा हो । त्यसैले तत्थ्यगत रुपमा बुझेर मात्र सो विवादलाई बाहिर ल्याउँदा उपयुक्त होला । दुवै टोलीले नक्शा गहिरिएर हेरेको पनि छ । त्यसमा तल माथि हुने ठाउँ देखिँदैन ।
स्थानीय बासिन्दाहरुले के भन्छन् भन्दा पनि नक्शामा के छ भन्ने तर्फ लाग्न म सबैलाई आग्रह गर्छु । प्रतिवेदन बाहिर दिन नमिल्ले र टोलीले सो प्रतिबेदन तयार गरेर गृहमा पठाइसकेको छ । यस बारेमा थप नबोल्ने र प्रतिवेदन पठाइसकेकोले यस बारेमा जानकारी लिन सरकारसँग बुझ्दा राम्रो होला ।
त्यहाँकाे वास्तविक अवस्था के छ ?
नेपाली टोलीलाई बाहिर आए जस्तो लखेटेको, बस्न नदिएको भन्ने कुरा गलत हुन् । भवन निर्माण स्थल ललुङजोङसम्म नेपाली पक्षले ट्रिपर लिएर गएको हो ।
बरु कोरोनाका कारण दूरी कायम गरी छलफल गरिएको थियोे । चिनियाँ पक्षले माइकबाट जानकारी गराएकाे साँचै हो । तर भाषाले गर्दा समस्या भने आएको थियो । टोलीले नेपाली पक्षलाई पिउने पानीको समेत व्यवस्था गरेर सद्भाव देखाएको थियो ।
चिनियाँ टोली ताक्लाकोटबाट आउनु पर्ने भएको कारण केही समय नेपाली पक्षले कुर्नु परेको थियो । हावाहुरीले गर्दा चिसो भएको कारण चिनियाँ पक्षले नेपाली टोलीलाई खाना पकाएको भए पनि खान पाइएन ।
तर जनप्रतिनिधि र स्थानीय जनता त सो क्षेत्र नेपाल कै हो भन्छन् त ?
तत्थ्य प्रमाणका आधारमा बोल्नु पर्ने हुन्छ । मैले अघि नै भनेँ- दुवै देशका नक्सामा ललुङजोङमा बनेका भवन चिनियाँ भूभागमा पर्छन् । हामीसँग पनि स्थानीय जनता र जनप्रतिनिधिले पहिलेबाटै नेपालीले बस्तुबिनिमय गर्दा, खर्कका रुपमा प्रयोग गरेको कुरा बताउँदै आउनु भएको थियो । तर हामीसँग प्रमाण छैन । यस बारेमा यति नै भनौँ।
अनुगमनका क्रममा ११ नम्बर पिलर भेटिएको हो ?
सीमा अनुगमनको महत्वपूर्ण उपलब्धि भनेकै नेपाली पक्षले हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ पत्ता लगाउनु हो । सो सीमा स्तम्भ पत्ता लगाउन मेरो नेतृत्वको टोली दुई दिन हिल्सामा बस्नु परेको थियो ।
टोलीले जिपिएसबाट उक्त सीमा स्तम्भ पत्ता लगाएको हो । नेपाली सेना र सशस्त्र प्रहरीको टोली हिल्साबाट बिहान चार बजे गएर सीमा स्तम्भ भएको स्थान टाकुलेमा पुगेर पत्ता लगाएको होे ।
हामी हुम्ला खण्डमा पर्ने चीनसँगको सीमा स्तम्भ १५ वटा मध्ये नौवटामा पुगेको थियौँ । यसमा सीमा स्तम्भहरुमा १०, ११, १२, ९ (१, २), ८ (१,२) ७( १,२ ) रहेका छन् । यी सबै सीमा स्तम्भहरुको अक्षांस र देशान्तर समेत तयार गरेपछि अनुगमन गर्न समेत सहज हुने देखिएको छ । देशसञ्चार