प्रदेश २ मा स्थानीय तहको निर्वाचन नजिकिए सँगै मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन्।
रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन्। चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मानिन्छ। यहाँ कांग्रेसले मेयरमा थारू समुदायलाई अघि सारेको छ। चन्द्रनिगाहपुरको छेउमै रहेको रौतहटको गुजरा नगरपालिका र फतुवाविजयपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले नगरप्रमुखमा मधेसी थारूलाई अघि सारेका छन्।
रौतहटका शिक्षक तथा साहित्यकार सञ्जय साह भन्छन्, ‘यो सकारात्मक सन्देश दिने कदम हो। आफ्नो निहित स्वार्थका लागि राजनीति गर्नेले समाजलाई विभिन्न ट्याग लगाएर विभाजित गरिरहँदा प्रमुख दलहरूको यो कदम सकारात्मक देखिन्छ।’
रौतहटको गुजरा र फतुवाविजयपुर नगरपालिकामा चन्द्रनिगाहपुरपछि पहाडी समुदायको उल्लेख्य बसोवास रहेको स्थानीयको बुझाइ छ। कांग्रेसले शेष दाउद, एमालेले रामेश्वरी बण्डा थारू र माओवादी केन्द्रले पलट चौधरीलाई गुजरा नगरपालिका प्रमुखमा उठाएका छन्।
यस्तै, फतुवाविजयपुरमा कांग्रेसले गोपाल राई यादव, एमालेले बुधाई खा पैठान र माओवादी केन्द्रले सुरेन्द्र राय यादवलाई मेयर पदमा मैदानमा उतारेको छ। कांग्रेसले चन्द्रनिगाहपुर नगरपालिकाबाट समेत मधेसी समुदायका रामचन्द्र चौधरीलाई मेयरमा प्रतिस्पर्धा गराएको छ। चन्द्रनिगाहपुरमा एमालेले उद्धव रेग्मी र माओवादीले युवराज भट्टराईलाई उम्मेदवार बनाएको छ।
Discussion about this post