नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको घोषणा पत्र तयार पारेको छ। घोषणा पत्रमा कांग्रेस प्रमुख प्रतीपक्षी नेकपा एमालेमाथि खनिएको छ। उसले एमालेलाई राष्ट्रिय एकता र सम्वृद्धिको बाधक भएको आरोप लगाएको छ।
कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि तयार पारेको ८४ पृष्ठ लामो घोषणापत्रमा वाम गठबन्धनप्रति निकै कठोर आक्रमण गरिएको छ ।
०४८ को चुनावमा कांग्रेसले ‘कम्युनिष्टहरुले जिते ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन्’ भन्दै भोट मागेको थियो । अहिले झण्डै २६ वर्षपछि फेरि कांग्रेसले त्यस्तै नारा दिएको छ । उसले आफ्नो घोषणापत्रमा कम्युनिष्टहरु लोकतन्त्रको पक्षमा कहिल्यै निष्ठापूर्वक नउभिने आरोप लगाएको छ ।
‘कम्युनिष्टहरु लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन्’ उसले भनेको छ, ‘कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्- तिनले हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन् ।’
‘मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,’ घोषणापत्रमा भनिएको छ।
कांग्रेसले संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एंव निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले संविधानका नयाँ उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको बताएको छ।
पढ्नुहाेस् घाेषणापत्रकाे पूर्ण पाठ
https://drive.google.com/file/d/0Bzkl_i5AHfLFY1QxajI1MnJFWUk/view