प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन्। गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ।
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत पपुलर मत ल्याउने देखिन्छ। त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ। एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन्। कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन।
वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ। साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन पुगेको हो।
वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ। तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ।
स्थानीय तहको मत औसतमा
स्थानीय तहमा समानुपातिकतर्फ मतदान नभएकाले कुनै पनि दलको एकमृष्ट मत निश्चित गर्न असम्भव छ। हरेक स्थानीय तहमा एक दलका सातजना उम्मेदवार थिए। निर्वाचन आयोगले ती सातैजना उम्मेदवारको मत जोडेको छ। जस्तो कि सबै स्थानीय तहमा एमालेका सातै उम्मेदवारको मत जोड्दा दुई करोड १४ लाख ५१ हजार हुन्छ।
तर, ती सातजना उम्मेदवारलाई दिने एकजना मतदाताको हिसाब गर्दा औसतमा एमालेको मत ३० लाख ६४ हजार ५३९ हुन्छ। यो कुल खसेको मतको ३४ प्रतिशत हो। त्यस्तै कांग्रेसले २९ लाख ८२ हजार २४० अर्थात् ३३ प्रतिशत र माओवादीले १६ लाख दुई हजार ४५० अर्थात् १७ प्रतिशत मत प्राप्त गरेका छन्। गठबन्धन भएका स्थानमा पनि केही पदमा अर्को दललाई मत दिएका दलले केही पदमा अर्को दलबाट मत पाएका छन्। त्यसैले उनीहरूको मत पनि औसतमै हिसाब हुन्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।