बाढी प्रभावित तराई-मधेशका जिल्लाहरुमा महामारीका रुपमा कुनै पनि रोग नफैलिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
३२ साउनमा स्वास्थ्य सेवा विभागले पत्रकार सम्मेलन गरेर बाढी प्रभावित जिल्लाहरुमा सामान्य रुघाखोकी, ज्वरो देखिएको भएपनि महामारीकै रुपमा कुनै पनि रोग नदेखिएको जानकारी दिएको हो ।
बाढी प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिदै विभागका महानिर्देशक राजेन्द्र पन्तले भने “अहिलेसम्म बाढी प्रभावित क्षेत्रमा महामारी फैलिएको छैन । सञ्चार माध्यममा आएजस्तो प्रकोपको रुपमा कुनै रोग देखिएको छैन ।”
बाढी प्रभावित क्षेत्रमा धेरै संख्यामा पशुपंक्षी समेत मरेको र फोहोर भएकोले हैजा फलिन सक्ने त्रास रहेको छ । त्यस्तै भत्किएका संरचना सफा गर्दा पनि रोगको प्रकोप आउने सक्ने चिन्ता जनाउदै आइएको छ । स्वास्थ्य सेवा विभागले पनि भविष्यमा महामारीको खतरा भने रहेको जनाएको छ ।
सबै क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाउदै विभागका महादिर्नेशक पन्तले घाइते तथा प्रभावित बासिन्दाको उपचार भइरहेको बताए । सबै जिल्लामा आवश्यकता अनुसार औषधी र स्वास्थ्यकर्मी खटाइसकिएको जनाएको समाचार हिमालखबरमा छ ।