नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इन्कर्पोरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।
गत आइतबार बेलुका ५ बजे प्राधिकरणको करिब ४३ अर्ब रुपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो । सञ्चालक समितिको सदस्यसमेत बैठकमा उपस्थित नभएपछि कोरम नपुगी बैठक बस्न सकेको थिएन ।
स्रोतका अनुसार, यती इन्कर्पोरेटका मालिक आङछिरिङ शेर्पाका नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि सहसचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो । उक्त जग्गा किन्न ३ अर्ब रुपैयाँभन्दा माथि लाग्ने अनुमान छ ।
शेर्पाले २०६९ सालतिर निकै सस्तो मूल्यमा उक्त जग्गा किनेका थिए । सो जग्गा उनलाई ठूलो नाफा हुनेगरी प्राधिकरणको नाममा किनाउन गौतममाथि राजनीतिक दबाब परेको छ । यसरी जग्गा बेचाउन सकेको भए नेपाल आयल निगममा भएको जग्गा घोटाला काण्डको पुनरावृत्ति हुने थियो । स्रोतका अनुसार उक्त जग्गा किनाउन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहेका संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारको दबाब छ । मन्त्री देव पनि लोकतान्त्रिक फोरमका तर्फबाट सरकारमा सामेल छन् । नागरिक दैनिक