उच्च अदालत पाटनले मल ठेक्का रद्दमा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले सोमबार बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णयविरुद्ध दायर रिटमा यस्तो आदेश जारी गरेको हो।
आदेशमा शैलुङ इन्टरप्राइजेज कम्पनीलाई कालोसूचीमा राख्ने कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न पनि भनिएको छ। त्यस्तै, दुवै पक्षलाई भदौ ३१ गते छलफलका लागि बोलाइएको छ। कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज प्रालिलाई भदौ २२ गते बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । सो निर्णय खारेजीको माग गर्दै शैलुङ इन्टरप्राइजेजले कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो।
मल ल्याउने ठेक्का लिएर पनि सम्झौताअनुसार काम नगरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलका लागि गरेको ठेक्का सम्झौता रद्द गरेको थियो। ती कम्पनीले २५/२५ हजार टन रासायनिक मल ल्याउने प्रतिबद्धता जनाए पनि नल्याएपछि कम्पनीले सम्झौता अन्त्य गरेर कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कम्पनी लिमिटेडले उनीहरुले धरौटी राखेको ९ करोडसमेत जफत गर्ने निर्णय गरेको छ।
Discussion about this post