सर्लाहीका चन्द्रदेव मल्ली आफनो समुदायबाट मुलुककै पहिलो ईन्जिनियर बन्न सौभाग्य प्राप्त गरेका छन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ९ का देवक मल्लीका छोरा चन्द्रदेव मल्ली तराईमा अति पिछडिएको डोम समुदायबाट ईन्जियर बन्ने नेपालकै पहिलो व्यक्ति हुन ।
चन्द्रदेवले करिब १ बर्ष अगाडि जनकपुर इन्जिनियरिङ्ग कलेजबाट सिभिल इन्जिनियर गरेका हुन् । उनले एकमहिना अगाडि देखि मकवानपुरको हेटौंडा स्थित निजी निर्माण व्यवसायी कम्पनीमा कार्यरत रहेको छन । आफूलाई यहाँसम्म पुर्याउन पिता देवक मल्लीकको ठूलो हात रहेको उल्लेख गर्दै चन्द्रदेवले भने, ‘बुबाले निकै दुःख गरेर मलाई यहाँसम्म पुर्याउनु भएको हो, मेरी बहिनी पनि भारतमा एमबीए पढ्दैछिन् ।’
डोम समुदायबाट मुलुककै पहिलो इन्जिनियर बनेको भन्दै सर्भिस फर पिस नेपाल र लायन्स क्लब अफ हरिवनले केहीदिन अगाडि सार्वजानिक कार्यक्रममार्फत उनलाई अभिनन्दन् गरेका थिए । सोही कार्यक्रमका वीच सर्लाहीका स्थानीय विकास अधिकारी राजकिशोर महतोले इन्जिनियर मल्लीकलाई दोसल्ला ओढाएर अभिनन्दन् पत्र प्रदान गरेका थिए ।
स्थानियहरुले आफुहरुलाई गरेको कदरले आफूलाई थप जिम्मेवार बनाएको भन्दै उनले आफ्नो समुदायका बालबालिकालाई शिक्षाको पहुँच दिलाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन । अहिले दाजु बहिनीले पढ्दै आएको कारण घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउदै चन्द्रदेवले अगामी दिनमा आफुले कमाएको पैसाबाट समुदायका बालबालिकालाई पनि शिक्षित बनाउने सोच रहेको बताउनुभयो ।
चन्द्रदेवका ६७ वर्षीय पिता देवन अहिलेपनि मलंगवा नगरपालिकामा स्वीपर (सरसफाई मजदुर) को रुपमा कार्यरत हुनुहुन्छ । तराई क्षेत्रमा नाला सफाई गर्ने, सुंगुर चराउने, सिनो फाल्ने, पोष्टमार्टममा ल्याईएको शव चिरफार सहित व्यवस्थापन गर्ने, बाँसका सामग्री निर्माण गर्ने लगायत काममा मात्र सिमित रहेका डोम समुदायबाट चन्द्रदेव पहिलो इन्जिनियर बनेपछि जिल्लाभरका डोम सहित दलित समुदायमा हर्षोल्लास छाएको नेपाल दलित संघ सर्लाहीका अध्यक्ष रामलखन दासले जानकारी दिनुभयो ।
सरसफाईका लागि गाउँ बाँडेर अंशबण्डा जस्तै गर्ने उक्त समुदायका परिवार अर्को परिवारले सरसफाई गर्ने क्षेत्रमा नजाने प्रचलन तराईमा व्याप्त छ । सर्लाहीमा डोम समुदायको जनसंख्या साँढे सातसयको हाराहारीमा रहेको छ । मिथिलाञ्चल अनलाइनबाट
Discussion about this post