सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

यसैगरी सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ । प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान ९ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेका लागि सरेको थियो । उद्योग मन्त्री सुनिलबहादुर थापाले प्रदेश १ को अस्थायी मुकाम धनकुटा बनाउन माग गरेका थिए । प्रदेश ३ को ललितपुर र हेटाैंडामध्ये कहाँ बनाउने भन्ने विवाद थियो ।

प्रदेश ५ को दाङ र रुपन्देही, प्रदेश ७ मा कैलाली र दिपायलमध्ये कहाँ बनाउने भन्ने विवाद थियो । दाङमा प्रदेश अस्थायी मुकाम माग गर्दै बुधबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ । त्यस्तै प्रदेश ७ को अस्थायी मुकाम दिपायल तोक्न माग गर्दै डोटीमा पनि आन्दोलन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेरि डेस्क
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।