प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ।
तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत’ भएसँगै अघि बढाइएको थियो।
केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश भयो तर, पास गर्न आवश्यक दुई तिहाई पुगेन।
संसदको बैठकमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको छ। प्रस्तावित विधेयक पारित हुन ४८ मत पुग्न सकेन भने नेकपामालेका ५ मतहरुले बहिष्कार गरे।
संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई ३९५ हुन्छ । तर, सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन्। लगतै एमालेसहितका विपक्षी सांसदहरुले टेबल ठोकेर खुसी मनाएका छन्।
संशोधन विधेयकको पक्षमा खसेको मत प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पाएको भन्दै कम हो। त्यसबेला ५५८ अर्थात अहिले भन्दा ५ सांसद बढी उपस्थित थिए र देउवाले ३८८ मत पाएका थिए।
तर, संशोधनको पक्षमा देउवाले पाएको भन्दा ४१ मत कम हो।
राप्रपामा देखिएको फुटको असरमा यसमा देखिएको छ। कमल थापा नेतृत्वको राप्रपाका १९ सांसदले संशोधन विधेयकको विपक्षमा मतदान गरेका छन् । अनलाइखबरबाट