नेकपा उपाध्यक्ष बामदेब गौतमले पार्टीको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गर्नुपर्छ भनी अभिव्यक्ति दिएको भनेर आएका समाचार पुरै गलत र भ्रमात्मक भनी खण्डन गरेका छन् । गौतमको सचिवालयका तर्फबाट बुधबार साँझ जारी प्रेस नोटमा प्रचण्डले पेश गरेको प्रस्ताव यथार्थ धरातलबाट आएको र त्यसमा गौतमको समेत योगदान रहेको स्पष्ट पारिएको छ ।
उपाध्यक्ष गौतमको सचिवालयले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने धारणा बैठकमा नराखेको र बाहिर आएका त्यस्ता भनाई ‘पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ’ भनेर धारणा सार्वजनिक गरेको छ ।‘आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन,’ गौतमको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरूले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन ।’
गौतमको सचिवालयले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको उल्लेख गरेको छ । दाहालले सचिवालय बैठकमा गौतमको सहमतिमा प्रस्ताव पेस गरेको विज्ञप्तिमा उल्लेख छ । ‘वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसाल झैँ अडिग हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
दाहालले पेस गरेका प्रस्ताव नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पध्दति पक्षधर नेता-कार्यकर्ताको सामूहिक आवाज भएको पनि गौतमको सचिवालयले बताएको छ ।
ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोक्न पनि विज्ञप्तिमा माग गरिएको छ । ‘उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।