नेपालका कम्युनिष्ट पार्टीहरुमा क्रियाशील युवाहरुका लागि संचालित ५ दिने केन्द्रीय स्कूल मंगलबारबाट काभ्रेको धुलिखेलमा सुरु भएको छ। कार्ल मार्क्स द्विशतबार्षिकी मूलसमारोह समितिले आयोजना गरेको उक्त स्कूलमा देशभरिबाट ३५० भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।
उक्त स्कूलको शुभारम्भ नेकपा एमालेको उपमहासचिव एवं कार्ल मार्क्स द्विशतबार्षिकी मूलसमारोह समितिका संयोजक घनश्याम भूसालले गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका नेता वर्षमान पुन, कार्ल मार्क्स द्विशतबार्षिकी मूल समारोहका समितिका सह–संयोजक राम कार्की, एमाले नेता गोपीरमण उपाध्यायले आफ्नो विचार व्यक्त गर्नुभएको थियो।
‘२०औं शताब्दीको विश्व साहित्यलाई मार्क्सवादले यति प्रभावित पारेको थियो कि पुँजीवादीहरुले नै महान् भनेका १७ जना साहित्यकारहरु मध्ये ११ जना त मार्क्सवादी थिए, ५ जना मार्क्सवादबाट प्रभावित थिए’, नेता भूसालले एउटा दृष्टान्त दिए।
बिबिसीले गरेको सर्वेक्षणमा शताब्दी पुरुष घोषणा भएका कार्ल मार्क्सको योगदानको बारेमा चर्चा गर्न यो संयुक्त अभियान सुरु गर्न पाउँदा निकै गर्व लागेको नेता वर्षमान पुनले बताउनुभयो।
स्मरण रहोस्, स्कूलका सहभागीले कक्षाको सुरुमा सामूहिक रुपमा निम्न प्रतिवद्वता जनाएका थिए।
‘म मार्क्सवादलाई आजको ज्ञान विज्ञानको आधारमा अध्ययन तथा विश्लेषण गर्न र समाजवादी विचारधारा, सिद्वान्त र आन्दोलनमा योगदान गर्न प्रयत्न गरिरहने छु।
‘म नेपालको कम्यूनिष्ट आन्दोलनलाई एकताबद्व गर्न आफ्नो ज्ञान विवेक र क्षमताले भ्याएसम्म प्रयत्न गरिरहनेछु।’
स्कूलको दोश्रो सत्रमा चैतन्य मिश्र र समाजवादी चिन्तक प्रदिप गिरीले सम्भाषण दिनुभएको थियो। मिश्रले “मार्क्सवादी अध्ययनको महत्व र हालको विश्व अवस्था’को बारेमा बताउनु भयो।
मिश्रले पूँजीवाद मृत्युशैयामा छ कि छैन? नेपालमा कम्यूनिष्ट पार्टीहरु कस्तो समाजवाद बनाउन लागेका छन् ? पूँजीवाद स्वयम् क्रान्तिकारी हुन सक्छ कि सक्दैन? पूँजीवाद भएर मात्र समाजवादमा जान सकिन्छ कि फड्किनं सकिन्छ? र एउटै मुलुकमा मात्र समाजवाद आउन सम्भव छ कि छैन? जस्ता बिषयलाई गम्भीरता पुर्वक प्रस्तुत गर्नुभयो। यस्तै, कार्यक्रममा चिन्तक गिरिले “कार्ल मार्क्स र उनका देन“ बिषयमा सम्भाषण दिनु भयो। उहाँले मार्क्सका व्यक्तिगत जीवनचर्याका साथै उहाँ र एंन्गेल्सका कृतिहरुको प्रतिफलबाट मार्क्सवादको संरचना भएको कुरा प्रष्ट गर्नु भएको थियो। साथै संरचनाका द्वन्द्वात्मक भौतिकबाद, अर्थशास्त्र र समाजबादका बारे संक्षिप्त व्याख्या गर्दै आप्न सम्भाषण समाप्त गर्नु भएको थियो।
पहिलो दिनको स्कूल परिचयात्मक सत्र र सम्भाषण सत्रहरु समाप्त भई सहभागीहरुलाई ५ समूहमा विभाजन गरी द्वन्द्वात्मक भौतिकबारेको सत्रसंचालन भइरहेका छन्, जसमा नेकपा माअाेवादी केन्द्रका नेता हरिबाेल गजुरेल र हेमराज भण्डारी, नेकपा एमालेका नेता पर्शुराम मेगी गुरूङ तथा बेदुराम भुसाल र राष्ट्रीय जनकाेर्चाका समिर सिंह प्रशिक्षकका रूपमा रहनुभएकोछ। यस पश्चात् आजको कार्यक्रम समापन हुनेछ।