मन्त्रिपरिषद् बैठकले किसानबाट धान खरिद् गर्न सहकारीहरूको सहयोग लिने निर्णय गरेको छ । वर्षा सुरुहुनु अगावै अगावै कृषि तथा पशुपन्छी विकास मन्त्रालय धानको समर्थन मूल्य निर्धारण गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष मोटा धान प्रति क्विन्टल २ हजार ७३५ र मध्यम धान प्रति क्विन्टल २ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले किसानबाट न्यूनतम मूल्यमा धान खरिद् गर्ने सहकारीहरूले प्रति क्विन्टल १ सय १२ रुपियाँ सरकारबाट अनुदान पाउने कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए ।
कृषि उत्पादन र कृषकको हितमा यो महत्वपूर्ण निर्णय हो,” उनले भने, “वर्षेनी धानको समर्थन मूल्य तोकिने गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको थिएन । तर गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार १५ रुपैयाँ तोकेपछि बजारमा गहुँको मूल्य ३ हजार ४०० रुपैयाँसम्म पुगेको थियो ।”त्यस्तै उनले धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी भएमा विचौलियाको कारण किसानलाई हुने घाटा रोकिने पनि बताए ।
सहकारीका प्रतिनिधिहरुसँग धेरै पटक छलफल गरेपछि मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेको पनि उलने बताए । करिब १ सय ७५ सहकारीहरूले करिब डेढलाख मेट्रिक टन धान खरिद गर्न सक्ने आसय व्यक्त गरिसकोको मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिएका छन् ।उनका अनुसार अब मन्त्रालयले सुचना प्रकाशित गरी सबै सहकारीहरुलाई आह्वान गर्ने छ ।
धान खरिद गर्दा सहकारीहरूले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए १ प्रतिशत चिस्यानको १२ सयग्राम तौल घटाएर मूल्य निर्धारित गर्ने मन्त्रालयको भनाइ छ । यस निर्णयले एकातिर न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वय हुने र किसान लाभान्वित हुने मन्त्रालयको विश्वास छ । त्यस्तै सहकारीमार्फत् यो काम हुँदा कृषिमा उनीहरूको भूमिका कुरामा मात्रै होइन व्यवहारमासमेत स्थापित हुँदै जाने मन्त्रालय बताउँछ ।
डा। आचार्यका अनुसार कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने मन्त्रालयका योजनाअनुसार यो निर्णय भएको हो । – बाह्रखरी