अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल डिभिजन एकमा बढुवा भएको छ।
क्यानडामाथि एक विकेटको जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हाे । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा करन केसीले सम्झनलायक प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालको पक्षमा गएको हो।
१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।
अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्याए ।
३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।
यूएईसँग उपाधि भिडन्त
बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ ।
पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल खेल्नु अघि सबै विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो ।
नेपाल र यूएईको उपाधि भिडन्त पर्सि हुनेछ ।