गोला प्रथाबाट संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ । सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्न व्यस्त छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् । संसद भवन नयाँ वानेश्वरमा सोमवार भएको गोलाप्रथामा खतिवडाले तानेको गोलामा कार्यकाल दुई वर्षको परेको हो ।संघीय संसदको सदस्य नभएको खण्डमा मन्त्री बन्न नसक्ने संवैधानिक व्यवस्था छ । गोलाप्रथावाट गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ हुने तय भएको छ । यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गेणश तिमल्सिनाको कार्यकाल ६ बर्ष र उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष भएको छ ।
गृहमन्त्री थापाको कार्यकाल ६ वर्षमात्र
गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो । बादल माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरि, राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ ।गोला प्रथाबाट २ वर्ष, चार वर्ष वा ६ वर्ष कति पदावधि हुने भन्ने तय हुनेछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।
जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् । यसैगरी सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।
चार वर्षपछि राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने
संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ। राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट लगाइएको पदावधि टुंगोमा नेपाली कांग्रेसका १३ सांसद मध्ये ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ। कांग्रेसका १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ, २ जनालाई ४ वर्ष र ४ जनालाई ६ वर्षको चिठ्ठा परेको छ।