पूर्वसांसद तथा जनवादी गायक खुशीराम पाख्रिनको मंगलबार उपचारको क्रममा निधन भएको छ । वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा १ः३० बजे माओवादी केन्द्रका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा गीत गाएर आराम गर्ने क्रममा असहज महसुस गरेका पाख्रिनलाई तत्कालै उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर लगिएको थियो ।
उपचारको क्रममा दिउँसो ४ वजे उनको निधन भएको माओवादी केन्द्र चितवनले जनाएको छ । सभामा आउनका लागि प्रमुख अतिथीहरु केपी ओली, प्रचण्ड लगायतका नेताहरु आउन ढिलाइ भएपछि पाख्रिनले खाली समय गीत गाइरहेका थिए । भरतपुर महानगर १९ निवासी पाख्रिन हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत हुन् ।
चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात जानाकारी छ ।
गीत गाउँदा गाउँदै मर्ने इच्छा…
तत्कालीन एकीकृत नेकपा माओवादीको गोरखाको पालुङ्टारमा सम्पन्न भएको छैठौं विस्तारित बैठकमा सहभागी भएका पाखि्रनसँग भएको भेटमा उनले गीत गाउँदा गाउँदै मर्ने इच्छा व्यक्त गरेका थिए ।
पाख्रिनले भनेका थिए, ‘म जनताका गीत गाउँदै हिँड्छु, जनता जगाउँदै हिँड्छु । गीत गाउँदा गाउँदै मर्न पाउँ ।’ माओवादी युद्धमा नजिकबाट मृत्यु छामेको बताउने पाख्रिन अन्ततः जनताको गीत गाउँदा गाउँदै अस्ताए । माओवादीले थालेको युद्धमा परिवारका सदस्यसमेत गुमाएका पाख्रिन सहिद परिवार हुन् ।