गृहमन्त्री जनार्दन शर्माले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्ष्य गरी आफू निकटलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर जिल्ला पठाउन थालेका छन्।
गृहमन्त्री शर्माले एक महिनायता ६१ जिल्लाको प्रजिअ परिवर्तन गरिसकेका छन्। उनले निर्वाचन आचारसंहिता छल्दै १२ भदौको पुरानो मिति राखेर तीन दिनअघि मात्रै चार जिल्लाका प्रजिअ सरुवा गरेका छन्।
मन्त्रालयले २६ साउनमा १० सहसचिव र २१ उपसचिव गरी ३१ जना तथा ८ भदौमा १३ सहसचिव र ३१ उपसचिव गरी ४४ जनाको सरुवा गरेको थियो।पछिल्लो पटक १९ भदौमा चार जना उपसचिवको सरुवा गरेको छ । सरुवा भएका अधिकांश प्रजिअ नै छन्।
मंसिरमा हुने चुनाव आफ्नो पक्षमा पार्न प्रजिअलाई प्रयोग गर्ने दाउमा गृहमन्त्री शर्मा रहेको गृहस्रोतको दाबी छ। ‘छोटो समयमै आफू निकटलाई खोजी–खोजी ६१ जिल्लाको सीडीओ बनाएर पठाइएकाले पनि गृहमन्त्रीको दाउ सजिलै बुझ्न सकिन्छ’, स्रोतले भन्यो।
न्त्रालयका अनुसार गृहमन्त्री शर्माले हस्तक्षेपमा एक महिनाभित्रै सहसचिव प्रजिअ रहने ४१ जिल्लामध्ये ३४ जिल्ला र उपसचिव प्रजिअ रहने ३४ जिल्लामध्ये २७ जिल्लाका प्रजिअ परिवर्तन गरिसकेका छन्।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने जिल्लाको सुरक्षा संवेदनशीलताअनुसार मन्त्रालयले प्रजिअ हेरफेर गरेको दाबी गरे। ‘गृह प्रशासन संवेदनशील क्षेत्र भएकाले यहाँ अवधि हुँदैन, आवश्यकता र संवेदनशीलताका आधारमा जुनसुकै बेला पनि सीडीओको सरुवा हुन सक्छ’, मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता सुवेदीले भने।
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गरिसकेको भए पनि गृहले छल्दै पछिल्लो समय ब्याकडेटमा प्रजिअ परिवर्तन गरिरहेको छ। गृहमन्त्रीकै निर्देशनमा अझै १० देखि १५ जिल्लाका प्रजिअ सरुवा गर्ने गृहको तयारी छ। अन्नपूर्ण पोष्टमा समाचार छ।