काठमाडौं, २० साउन । नेपालमा ‘समाजवाद उन्मुख’ संविधान कार्यान्वयन भइरहेको सन्दर्भमा विकासको रणनीतिको रुपमा हामीले अख्तियार गरिरहेको ‘तीन खम्बे अर्थनीति’का खम्बाहरु सरकारी, सहकारी र निजी मध्ये कुन पक्षको भूमिका र सीमा कस्तो हुनुपर्छ ? ।सबै पक्षको भूमिका र सीमा बराबर हुनुपर्छ वा ती मध्ये कुनै बढी प्रभावी र कुनै कम प्रभावी हुन्छ/हुनुपर्छ/गरिनुपर्छ ? वा पर्दैन ? । हाम्रो जस्तो मुलुकमा पुँजीको संकलन (Accumulation) कसरी सम्भव हुन्छ ? र नेपालको विकास मोडल कस्तो हुन सक्छ ? । नेपालको विकासको बाटोका बारेमा छलफल गर्न बिहीबार राजधानीमा आयोजित ‘नेपालको विकास : कुन बाटो ?’ विषयक विचारगोष्ठीमा सहभागी बुद्धिजिवीहरुका बीच यस विषयमा विभिन्न मत–अभिमत भए ।
नेपाल अध्ययन केन्द्र आयोजक रहेको उक्त गोष्ठीमा डा.खगेन्द्र प्रसाईंले ‘नेपालको विकासको बाटो’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले ‘समाजवाद उन्मुख लोकतान्त्रिक राज्य’ र ‘अनियन्त्रित निजी क्षेत्र’ एकैसाथ कुनैपनि हालत सम्भव नहुने बताउनुभयो । अहिलेका विकसित मुलुकहरुले पुँजीको संकलन (Accumulation) रक्तपातपूर्ण तरिकाले गरेको उदाहरण पनि दिनुभयो । उहाँले विशिष्ठ अवस्थामा विकास गरेका दक्षिण कोरिया, सिंगापुर र ताइवानको विकास मोडल नेपालमा सम्भव नभएको दाबी पनि गर्नुभयो ।
नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व उपप्रधान मन्त्री तथा अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी, एमाले नेता घनश्याम भूसाल, विश्लेषक हरि शर्मा, टंक कार्की, डा.गोविन्दबहादुर थापा, तुलानारायण साह, नेत्र तिम्सेना, सुदिप श्रेष्ठ, दिनेश पौडेल लगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो।
नेता खनालले सबै मुलुकका विकासका आ–आफ्नै मोडल हुने बताउँदै हामीले पनि आफ्नै विकासको मोडल बनाउनुपर्ने बताउनुभयो । अर्थतन्त्रको तीन खम्बा मध्ये सरकारी र सहकारीलाई विस्तार गर्दै निजी क्षेत्रलाई राज्यले व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
डा.लोहनीले सोभियत मोडलको विकासले सोभियत संघमा उद्यमशीलताको सिर्जना गर्न नसकेको उदाहरण दिनुभयो । प्रतिस्पर्धात्मक अवस्था नहुँदा उक्त मोडल असफल भएको उहाँको तर्क थियो । संसारभरी पुँजीको संकलन रक्तपातपूर्ण तरिकाले मात्र नभएको र स्थान विशेषको आन्तरिक अनुकूलता पनि रहेको बताउनुभयो।
विश्लेषक शर्माले यस छलफलबाट विकासको मोडल खोज्न हतारिएको भान भएको बताउनुभयो । संविधानको ‘समाजवाद उन्मुख’ शब्द वामपन्थी र गैरवामपन्थी दुबै धारले आफ्नो अनुकूलतामा प्रयोग गरिरहेको र यो एउटा माहोलमा आएको कुरा गर्नुभयो । यस्ता छलफलले समाजवादी अवधारणालाई व्यवहारिक बनाउन सहयोग हुने बताउनुभयो ।
नेता भूसालले विकासको कुरा गर्दा हामीले संविधानको ‘समाजवाद उन्मुख’ चरित्र र उत्तर तथा दक्षिण दुबै छिमेकमा भइरहेका विकासले हामीलाई पार्ने प्रभावलाई हाम्रो सन्दर्भमा राखेर हेर्नुपर्ने बताउनुभयो ।
अध्येता तुलानारायण साहले विकास भनेको भौतिक पूर्वाधारमात्र होइन रहेछ भन्दै गृह जिल्ला सप्तरीको उदाहरण दिनुभयो । उहाँले सबैभन्दा ठूलो राजमार्ग, नेपालको पहिलो नहर र पर्याप्त शैक्षिक संस्थाहरु भएर पनि हाल सप्तरी अति कम विकसित १० जिल्लामा परेको अवस्था समेतलाई उक्त महत्वपूर्ण विकास बहसमा स्थान दिन आग्रह गर्नुभयो ।
अडियो सुन्नुहोस्ः-
डा.खगेन्द्र प्रसाईं(भाग १)
डा.खगेन्द्र प्रसाईं(भाग २)