न्यूयोर्क सेन्ट्रल पार्कको कोलम्बसको १२५ वर्ष पुरानो प्रतिमाको हातमा अज्ञात व्यक्तिले ‘रगत’ जस्तै रातो रङ्ग पोतिदिएको छ र यसको पायदानामा सेतो रङ्गले “घृणालाई सहन गर्न सकिदैन” भन्ने नारा लेखेको छ।
प्रतिमाको पायदानामा “तिम्रो आत्मा जागोस्” बुझाउने एक चिह्न भएको एक कागज फेला परेको छ भने #SomethingsComing को ह्यासट्याग गरिएकोछ।
यो प्रतिमा म्यानहटनको मध्यभागको प्रसिद्ध पार्कको दक्षीणपूर्वी भागमा शेक्सपियरको प्रतिमा नजिकै रहेको छ। यो कार्य कसले गरेको हो हालसम्म पत्ता नलागेकाले कसैलाई पक्राउ गरिएको छैन।
गत महिना पनि एक विरोधीले कोलम्बसको आगमनपछि अमेरिकी आदिवासीको आम हत्या गरेको र दास बनाएको विरोधमा एक यूट्युव अपलोड गरेका थिए। यसरी नै कोलम्बसका विरुद्ध विस्तारै विस्तारै जनमत बढ्दैछ। भनिन्छ, उनले नै सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए। तर अमेरिकामा उनी भन्दा चिनिया र मूर जातिहरु पुगीसकेका कैयन तथ्यहरु हाल फेला परिसकेका छन्।
उनी अमेरिका उत्रेको अक्टुबर १२ तारेखका दिनलाई स्मरण गर्दै अमेरिकामा सन् १९३७ देखि एक दिन बिदा दिइने गरिएको थियो तर सन् १९७० पछि भने अक्टुबर महिनाको दोस्रो सोमवार दिइन थालिएकोछ। स्मरण रहोस्! आदिवासीका अभियानका कारण डेन्भर, फिनिक्स र सियाटल जस्ता केही स्थानहरुमा यस दिनलाई आदिवासी दिवशका रुपमा मनाइन थालिएको छ।