संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ सुविधा बारे छलफल गरेका थिए ।
त्यसक्रममा यो निर्णय तत्कालका लागि कार्यान्वयनमा नलैजान र हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए-नभएको अध्ययन गर्न निर्देशन दिएका छन् ।मन्त्रालय उच्च स्रोतका अनुसार प्राधिकरणका महानिर्देशक पोखरेलले भने हिमालय एयरलाइन्सबाट ग्राउण्ड हृयाण्डिलिङ निर्देशका पूरा गरी आवेदन आएका कारण विधिपूर्वक सुविधा प्रदान गरिएको जानकारी मन्त्री भट्टराईलाई गराएका थिए ।
मन्त्री भट्टराईले भने राष्ट्रिय महत्व राख्ने विषयमा निर्णय लिँदा मन्त्रालयको उच्च नेतृत्वसँग समेत सल्लाह र सुझाव लिन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।प्राधिकरणको अध्यक्ष भने स्वयमः मन्त्री रहने प्रावधान रहेको छ । यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा दिने निर्णय गरेको थियो । अहिले त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा नेपाल एयरलाइन्सले गरिरहेको छ ।
यसअघि थाई एयर र एयर इण्डियाले यस्तो सुविधा लिइसकेका छन् । हिमालय एयरलाइन्सले सोही प्रावधानमा टेकेर लिएको भएपनि उसँग ग्राउण्ड हृयाण्डिलिङ संचालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता भए-नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका छन् ।
मापदण्ड नपुग्ने कम्पनीको सुविधा खोस्न निर्देशन
विगतमा सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा लिइसकेका कम्पनीको समेत मापदण्ड अध्ययन गर्न मन्त्री भट्टराईले प्राधिकरणलाई निर्देशन दिएका छन् ।यसरी अध्ययन गरी मापदण्ड पुरा नगरेको पाइए एयर इण्डिया र थाई एयरको समेत सुविधा खोसेर त्यो जिम्मा नेपाल एयरलाइन्सलाई प्रदान गर्न मन्त्री भट्टराईले निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । अनलाइखबर