पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेस र मधेसका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेसलाई जोड्न राजनीतिक दलहरुलाई अपील गरेका छन्।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित जनसभामा अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपिल गरे। ‘पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन्। त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ,’ उनले भने। उनले क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न नसक्ने बताए। “हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामीबाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिक भन्ने हैसियत थिएन।
हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए, प्रचण्डले भने, “अहिले मधेसी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन्।’ सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टी भएको बताएर। सिम्रौनगढमा आयोजित सभामा प्रचण्डले भने, ‘माओवादीको दिल निकै ठूलो छ। हामीमा संकिर्ण र अतिवादी सोच छैन। हामी हिमाल, पहाड र मधेसका जनतालाई समान माया गर्छौं।’
कार्यक्रममा सहरी विकास मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहले मधेस र मधेसी जनतालाई विकास र रोजगारी चाहिएको बताए। शनिबार प्रचन्डले कलैयाको सिसुवा, कलैयाकै बलरामपुर, बाराको गढीमाई, बाराकै सिम्रौनगढ लगायतका ठूला जनसभालाई सम्बोधन गरेका थिए। थाहाखबर