पूर्व केन्द्रीय मन्त्री र भाजपा नेता जसवंत सिंहको ८२ बर्षको उमेरमा निधन भएको छ । टाउकोमा चोट लागेको कारण उनी गत छ बर्षदेखि कोमामा थिए।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर उनको मृत्युको खबर दिदैँ गहिरो शोक व्यक्त गरेका छन। मोदीले ट्वीटमा लेखेका छन्, ‘जसवंत सिंह जीले कडा मेहनत गरेर हाम्रो देशको सेवा गरे, पहिले सैनिकको रूपमा र पछि राजनीतिमा लामो समयसम्मको सम्बन्धमा। अटल जीको शासनकालमा उनले महत्त्वपूर्ण विभागहरू सम्हाले र उनले वित्त, रक्षा र वैदेशिक मामिलाको दुनियाँमा ठूलो छाप छोडे। उनको निधनबाट म दुखी छु। ‘
प्रधानमन्त्री मोदीले अर्को ट्वीटमा भने, ‘जसवंत सिंह जीलाई राजनीति र समाजको मामिलामा अनौंठो दृष्टिकोणको लागि याद गरिनेछ। उनले भाजपालाई सुदृढ पार्न पनि योगदान गरे। म उहाँसँगको मेरो कुराकानीलाई म सधैं सम्झन्छु। उनको परिवार र समर्थकहरुलाई समवेदना। ओम शांति
यस्तै यो खबर पाएपछि रक्षामन्त्री राजनाथ सिंहले लेखेका छन्, ‘अनुभवी नेता तथा पूर्व मन्त्री जसवंत सिंहको निधनबाट दु:खित छु। उनले रक्षा मन्त्रालयका प्रमुखसहित धेरै पदहरूमा देशको सेवा गरे। उनले आफूलाई एक प्रभावशाली मन्त्री र सांसदको रूपमा प्रतिष्ठित गरेका थिए। ‘
पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको सरकारमा उनले १९९६ – २००४ बीच रक्षा, परराष्ट्र र वित्त जस्ता मन्त्रालयहरू सम्हालेका थिए। उनी राजस्थानको बाडमेर जिल्लाको जसोल गाउँका निवासी थिए। उनी १९६० को दशकमा भारतीय सेनामा एक अधिकारी थिए। उनी पन्ध्र वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएका थिए।
सन् २०१४ मा भाजपाले जसवंत सिंहलाई बाडमेरबाट लोकसभा चुनावको लागि टिकट दिएन। यसबाट क्रोधित जसवंत विद्रोहमा उत्रिए। तब भाजपाका शीर्ष नेताहरूले उनलाई धेरै मनाउने कोसिस गरे तर उनी अडिग थिए। उनले भने कि टिकट बाँड्ने तरिका अपमानजनक थियो। उनले अन्ततः पार्टी छोडे र स्वतन्त्र रूपमा चुनाव लडे तर पराजित भए। चुनाव हारेपछि उनी दिल्लीमा उनको घरमा एक्लै बस्दै आएका थिए । एक राति उनी बाथरूममा खसेर चोट लागेको बताइएको थियो। चोट यति गम्भीर थियो कि उनी कोमामा गएका थिए।