प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपा नेपालले संसदमा गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन बिहीबार सर्वदलीय बैठक बोलाइएको छ । सभामुख कृष्णबहादुर महराको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो ।
कांग्रेस र राजपाले बजेट र नीति तथा कार्यक्रम पारित भएलगत्तैदेखि संसद अवरुद्ध गरिरहेका छन्। करिब एक महिनोदखि संसद अवरुद्ध हुँदा कयौँ विधेक तथा सरकारका काम कारबाहीबारेमा छलफल हुन सकेको छैन। यो गतिरोधलाई शनिबार प्रधानमन्त्री सिंगापुर उड्नुअघि नै हटाउने गरी छलफल थालिएको हो । चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचार र आरामका शनिबार सिंगापुरतर्फ प्रस्थान गर्दैछन्। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओली विदेश जानुअगावै संसदको अवरोध हटाउने पहल थालेका हुन्। ‘प्रधानमन्त्रीलाई पनि यसबारेमा सबै जानकारी छ’, महराले भने, ‘उहाँ जानु भन्दा पहिले यो गतिरोध हटाउने गरी छलफल थालेका छौँ।’