प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ ।
प्रधानमन्त्री ओली र उहाँका समकक्षी लिखछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि आज आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “प्रधानमन्त्री ओलीको भ्रमण ‘स्पेसल सिग्नेफिकेन्स’ भयो ।” सहायकमन्त्री कोङले राजनीतिक स्थायित्वपछि नेपालको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको बताउनुभयो ।
प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो पटकको यस भ्रमणमा १४ विषयमा सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै उहाँले नेपालले पनि एक चीन तथा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।
नेपालले चीनबाट उच्चस्तरको भ्रमणको इच्छा व्यक्त गरेको र जवाफमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ । सहायकमन्त्री कोङले हिमाली अन्तरदेशीय सम्पर्कलाई विस्तार गर्दै लैजाने विषयमा दुवै देशका नेताहरु सहमत भएको तथा स्वतन्त्र व्यापार सम्झौताका विषयमा सम्भाव्यता अध्ययन गर्ने र नेपालका सातै प्रदेशमा आर्थिक विकास गर्ने विषयमा विचारविमर्श भएको जानकारी दिनुभयो ।
नेपाल र चीनबीच १० वटा सहमति
नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । थप चार विषयमा ‘लेटर अफ एक्सचेञ्ज’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपुल्समा भएको वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।
रेलमार्ग निर्माणमा सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उपविदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् । चीनमा रेललाई एक्सप्रेस र कार्गो वर्गीकरण गरिएको छ । कार्गो रेलमा सामान पनि ढुवानी गर्न मिल्छ । तर, यसको गति डेढ सयदेखि २०० किलोमिटर प्रतिघण्टा हुन्छ ।
नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका छन् ।
नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ । ती मन्त्रालयबीच सहकार्य अभिवृद्धि गर्दै जाने सहमतिसमेत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र ऊर्जा प्रशासनका प्रशासक नुर बाइकेलीले सम्झौतामा हस्ताक्षर गरे ।
दुई देशबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलगअलग सम्झौता भएको छ ।
नुवाकोट दरबार पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदान गर्ने समझदारी भएको छ ।