प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भ्रमणको लागि बुधबार अमेरिका पुगेका छन् ।
मंगलबारदेखि आरम्भ भएको संयुक्त राष्ट्रसंघको उच्चस्तरीय छलफलमा सहभागी हुन उनी अमेरिका आएका हुन् । उनलाई स्वागत गर्न अमेरिकामा रहेको गैरआवासीय नेपालीहरु नेपालको राष्ट्रिय र कांग्रेसको झन्डा बोकेर जोन अफ केनडी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । इत्तिहाद एअरलाइन्समा अबुधावी हुँदै अमेरिका आइपुगेका प्रधानमन्त्रीको टोलीमा २१ सदस्यीय रहे पनि एक स्वकीय सचिव र पत्नी आरजु देउवाको उपस्थिति थिएन । उनीहरुले अन्तिम समयमा आफ्नो भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री भएपछि देउवा दोस्रो विदेश भ्रमणको रुपमा अमेरिका आएका हुन् ।
देउवाले सुरुमा तेस्रो चरणको स्थानीय तह निर्वाचनका बेला अमेरिका भ्रमणमा नआउने बताए पनि महासभामा उनको सम्बोधनको पालो असोज ६ गते शनिबार परेकाले उनी आउने भएको जानकारी दिइएको थियो । परराष्ट्र मन्त्रालयले पनि नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद् उम्मेदवार भएकाले जानुपर्ने सुझाव दिएको थियो । तर, प्रधानमन्त्रीले यसपटक अमेरिकी राष्ट्रपति भने भेट्ने अवसर पाएनन् । उक्त अवसरको उपयोग महराले गर्ने भनिए पनि उनले पनि भेट्ने अवसर जुरेन । उनले मंगलबार साँझ राष्ट्रपति ट्रम्पलाई भेट्ने अवस्था रहेको भए पनि उनी त्यो कार्यक्रममा लामो प्रक्रिया गर्न पर्ने र धेरैबेरसम्म कुर्न पर्ने भएपछि जान अस्वीकार गरे ।
आयोजक ट्रम्पले आफ्नो उपस्थिति नै आधाघण्टा ढिलो गरेपछि व्यवस्थापनमा आफू अभ्यस्त नभएको भन्दै महरा उक्त रात्रि भोजमा सहभागी भएनन् । उक्त कार्यक्रम प्रतिनिधि मण्डल प्रमुखको लागि आयोजित भएकोले पनि महरा प्रतिनिधि मण्डल प्रमुख नभएकोले पनि भेट टरेको अधिकारीले बताए । राजदूत नै डेलिगेसन प्रमुख हुँदा पनि सहभागिता रहने अवस्था आउँथ्यो । मंगलबार डेलिगेसन प्रमुख नआइपुगेकाले महरालाई सहभागी गराउने प्रयास भएको थियो ।
दुई वर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएको र अमेरिकी राष्ट्रपतिसँग पनि त्यो स्तरमा छलफल नभएकाले यसपटक हुने सम्भावना थियो तर देउवाको भ्रमण १२ घण्टा ढिलो हुनाले त्यो भेटघाटको समय नमिलेको पनि अधिकरीहरुले बताए । १ सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा धारणा राख्नेछन् ।
उनले आएलगत्तै विमानस्थलमा आफ्ना नागरिकसँग भने मुलुक बनाउन र राजनीतिक स्थायित्वको लागि सबैको साथ र सहयोग आवश्यक छ यसमा जोड दिन सबैलाई आग्रह गर्छु । उनले राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । प्रधानमन्त्री देउवा भन्दा दुई दिन अघि आएका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले पनि महासभाको उद्घाटन सत्रमा सहभागिता जनाए । तीन बैठकमा भाग लिए । बुधबार बेलुका उनले निजरसँग कूटनीतिक सम्बन्ध कायम गर्नेछन् । त्यस्तै उनले सार्कको मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । कान्तिपुर