जो बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सिनेटर बर्नी स्यान्डर्सले जो र कमला नेतृत्वलाई समर्थन गर्ने बताउँदै घुमाउरो पारामा बधाइ दिएका छन्।
एक विज्ञप्ति जारी गर्दै स्यान्डर्सले भने-अब हाम्रो तल्लो तहको व्यापक मेहेनतमार्फत, थोरैको हित गर्ने होइन, सबैको लागि काम गर्ने सरकार बनाऔं। स्यान्डर्सको विज्ञप्ति अगाडि उल्लेख छ, ‘न्यायमा आधारित राज्य स्थापना गरौं। लालच, कट्टरता र पूर्वाग्रहमा आधारित होइन।’
डेमोक्रेटिक पार्टीको तर्फबाट तीनवटा राज्यको प्राइमरीमा महत्त्वपूर्ण समर्थन पाएर पनि स्यान्डर्स राष्ट्रपतीय निर्वाचनको दौडमा गत अप्रिलबाट पछि परेका थिए।
बाइडेनको जीतको कारक तल्लो तहको जनता भएको बर्नीले बारबार दोहोर्याएका छन्। बामपन्थी पक्षीय कंग्रेस महिलाहरूको ‘स्क्वाड’ भनिने समुहहरूसँगको अन्तर्वार्तामा गत अक्टोबरमा उनले भनेका थिए – आधुनिक इतिहासको सबैभन्दा खराब यी राष्ट्रपतिलाई हराउनु हाम्रो पहिलो काम हो र दोस्रो काम, फ्रान्क्लिन डि. रुजभेल्ट यताका मध्ये सबैभन्दा प्रगतिशील राष्ट्रपतिका रुपमा बाइडेनलाई स्थापित गर्नका लागि हामीले हाम्रा मान्छे (नेता-कार्यकर्ता) लाई परिचालित गर्नुपर्छ।
राष्ट्रपति चुनावको पूर्वसन्ध्यामामा स्यान्डर्सले कोभिड महामारीलाई व्यवस्थापन गर्ने सवालमा ट्रम्पको अवैज्ञानिक सोच र तौरतरिकातर्फ व्यङ्ग्य गर्दै ट्विट गरेका थिए – ट्रम्पलाई हटाउँ, फाउचीलाई राखौं। मास्क लगाउँ। विज्ञानविरोधी युद्ध अन्त्य गराउँ। भोट हालौं! भोट हालौं!! भोट हालौं!!! (फाउची अमेरिकी चिकित्सक र प्रतिरक्षाविज्ञानी हुन् जो अमेरिकामा सङ्क्रामक रोगहरूको राष्ट्रिय संस्थानका निर्देशकको रूपमा काम गर्छन्।)
अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धामा आएकामध्ये अहिलेसम्मकै प्रगतिशील नेता मानिन्छन् स्यान्डर्स। युवा पुस्ताले एकदमै रूचाएका ७९ वर्षीय स्यान्डर्स वातावरणीय, नश्लीय र जातीय र आर्थिक न्यायको चर्को वकालत गर्छन्।