पछिल्लाे समय सावर्जनिक जग्गा किनबेचमा राजनीतिक दलका नेतादेखि सरकार र उच्च पदमैं बसेका व्यक्तिहरूकाे सम्लग्नता भएकाे पाइएकाे छ। भ्रष्टाचारका एकपछि अर्काे प्रकरण बाहिरिरहँदा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानून व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो । बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययन र अनुसन्धान गरिरहेका छन् ।
यसैगरि देशकैं सबभन्दा पुरानाे उद्याेग विराटनगरकाे जुटमिलकाे जग्गामा सभामुख कृष्णबहादुर महरा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया पनि मुछिएका छन् । राणाकालमा स्थापना भएकाे जुटमिलकाे संस्थापक सेयरधनीमा सभामुख कृष्णबहादुर महराका दुवै जेठा छोरा निर्मल (एटम), कान्छा छोरा रेशम (राहुल) र सचिव दिनेश थपलिया देखिएका हुन।