बैतडीमा यो वर्ष खाद्य बाली उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यो वर्ष खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।
मुख्य खाद्य बालीका रुपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। जिल्लाको १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिने गरिएको छ।
यस्तै, यसवर्ष धानबाली उत्पादन पनि बढेको छ। यो वर्ष १८ हजार ४९ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष धान १७ हजार १९० मेट्रिक टन उत्पादन भएको थियो। बैतडीको ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।
जिल्लाको सबैजसो ठाउँमा मकै खेती गरिन्छ भने पाटन, हाट, सलेना, सुर्नयालाई धान खेतीको पकेट एरियाका रुपमा चिनिन्छ। यो वर्ष किसानले उन्नत जातको बिउ प्रयोग गरेकाले खाद्य बाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। यो भन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भएपनि जंगली जनावरका कारण केही कम उत्पादन भएको बताइएको छ।
दलहन उत्पादन घट्यो
बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ। खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो।यो वर्ष भटमास १ हजार ३ सय ६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। गत वर्ष भटमास १ हजार ४ सय ३३ मेट्रिक टन उत्पादन भएको थियो। बैतडीको १ हजार ३ सय ६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिएको छ।
यस्तै, यो वर्ष ३ सय १९ मेट्रिक टन मास उत्पादन भएको छ। गत वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो। जिल्लाको ४ सय १० हेक्टर क्षेत्रफलमा मास खेती गरिन्छ। यो वर्ष बढी वर्षा भएकोले दलहन उत्पादन घटेको हो। दलहन खेती गर्नका लागि चाहिनेभन्दा बढी वर्षा भएकोले कम फलेको ज्ञान केन्द्रले जनाएको छ। थाहाखबर