भारतमा कम्युनिष्ट पार्टी नेतृत्वको केराला प्रादेशिक सरकारले केन्द्रीय सरकार नेतृत्व गरिरहेको हिन्दु अतिवादी भारतीय जनता पार्टीका जनविरोधी कामको भण्डाफोर गर्न दुई साता लामो अभियानको थालनी गरेको छ । ‘केन्द्रीय सरकारका जनविरोधी नीति र उसले गरेको घृणाको राजनीतिको भण्डाफोर गर्न’ अभियानको शुरुवात गरिएको आयोजकले बताएको छ ।
जनजागरण यात्रा नाम दिइएको सो अभियान भाजपाले जनताबीच फैलाएका झुठ्ठा खबरबारे सत्यतथ्य प्रचार गर्न पनि शुरुवात गरिएको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले जनाएको छ ।
गएको साता भाजपाले जनरक्षा यात्राको नाममा जनताबीच झुठ प्रचार गरेको उनीहरुको भनाई छ । ‘उनीहरुका झुठा प्रचार र अतिरञ्जनापूर्ण अभियानमा केही केन्द्रीय मन्त्री र मुख्यमन्त्रीहरुका अभिव्यक्तिको उद्देश्य केरालामा कायम शान्ति अमनचयनमा दखल पु¥याउनु थियो।’,केरालाका मुख्यमन्त्री पिनारायी विजयनले आफ्नो फेसबुक पोस्टमा भने ।
‘संघीयताको सिद्धान्तको उल्लंघन पनि भएको छ…अब हामी भाजपाको दोहोरो चरित्र र पाखण्डी जनताको बीचमा बाहिर ल्याउनेछौं ।’, उनले भने । भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले भने केरालाका मुख्यमन्त्रीलाई विकासको मामिलामा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
साहको चुनौतीलाई विजयनले आफू उनको चुनौती स्वीकार्न तयार रहेको प्रतिक्रिया दिएका छन्। ‘भाजपाले शासन चलाएको कुनै पनि प्रदेशमा केरालामा जति विकास देखाउन म पनि चुनौती दिन चाहन्छु।’, उनले भने।
वास्तवमा भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा बेरोकतोक बजार कट्टरपन्थ, तानाशाही र अल्पसंख्यकलाई उपेक्षा गर्ने प्रवृत्ति बढेको छ ।’, भाकपा मार्क्सवादीले बताएको छ । केराला भारतकै सबभन्दा बढी साक्षर, बाल मृत्युदर कम भएको र औसत आयु बढी भएको प्रदेश हो । त्यहाँ विद्यालय जाने विद्यार्थीहरुको संख्या प्रथम विश्वका मुलुकसँग तुलनायोग्य मानिन्छ ।
‘भारतीय जनता पार्टी र राष्ट्रिय स्वंयसेवक संगठनबाट केरालाले सिक्नुपर्ने कुरा केही छैन ।’, केरालाका मुख्यमन्त्रीले भने । ‘त्यसकारण केरालाका जनता केराला सरकारविरुद्ध फैलाएका झुठलाई अस्वीकार गर्दै आएका छन् ।’
शनिबारबाट शुरु भएको अभियानको भाकपा मार्क्सवादीका सचिव कोदियारी बालकृष्णनले केरालाको उत्तर र भकपाका सचिव कमान राजेन्द्रनले दक्षिणी भेगमा नेतृत्व गर्ने बताइएको छ।
केरालामा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको नेतृत्वमा वाम प्रजातान्त्रिक मोर्चाको सरकार छ । त्यो मोर्चामा केरालाका विभिन्न कम्युनिष्ट र समाजवादी पार्टीहरु आबद्ध छन् । अभियानअन्तर्गत केरालाका एक सय चालिस निर्वाचन क्षेत्रमा दुई साताभित्र जनसभाहरु गर्ने कार्यक्रम रहेको बताइएको छ।
सन् २०१६ को मे २५ मा वाम प्रजातान्त्रिक मोर्चाको सरकार बनेपश्चात केरालाले जातिवाद, श्रम कानुन र लिंगीय समानताको विषयमा विभिन्न महत्वपूर्ण कानुन पारित गरेको छ।
केरालामा ९३.९ प्रतिशत जनता शिक्षित छन् भने त्यहाँको औसत आयु ७७ वर्ष रहेको छ । सन् २०१५ मा त्यहाँको मानव विकास सूचकांक ०.७१२ रहेको छ । याे खबर हामीले अनलाइन मजदुर डटकमबाट लिएका हाैं।