दुई अध्यक्षबीचको सम्बन्धमा तिक्ततापूर्ण अवस्था जारी रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले पार्टी एक ढिक्का बनाउने हो भने प्रधानमन्त्रीले मुख्य ४ विषयमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
आफ्नो समूहसँग मात्रै परामर्श शुरु गरेका प्रधानमन्त्रीलाई शुरुमा नेताहरुले यसरी दुई पक्ष मिलेर अर्को पक्षलाई एक्ल्याउने काम बन्द गर्नुपर्ने, सामूहिक निर्णयका लागि बैठक बाेलाउनु पर्ने, बैठकले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने र गुटगत गतिविधिमा सक्रिय रहेकाे मदन भण्डारी फाउन्डेशनका गतिविधी राेक्नुपर्नेजस्ता सुझाव दिएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।
पार्टीभित्र तेस्रो समूहका रुपमा चिनिने वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुलाई प्रधानमन्त्रीले विभाजनको अवस्थामा पुगेको पार्टी जोगाउन सहयोग गर्नुपर्ने बताएपछि आफुहरुले त्यसरी जोगाउने तपाइँको उपाय के हो ? भनेर सोधेको तर जवाफ नपाएको पाण्डेको भनाइ छ । बालुवाटारमै बोलाएर प्रधामन्त्रीले गर्नुभएको छलफललाई नेकपा वृत्तमा चासोका साथ लिइए पनि दुवै पक्षले त्यहाँ राखेका अडान सुन्दा यो छलफल पनि ‘माछो माछो भ्यागुत्तो’ जस्तै हुने देखिएको छ ।
पार्टी फुटलाई जोगाउन प्रधानमन्त्रीले अनुरोध गर्नु भएपछि तपाइँहरुले के भन्नुभयो त ? भन्ने जिज्ञासामा पाण्डेले भन्नुभयो, ‘पहिले कार्यदलका तर्फबाट समस्या समाधान गर्ने प्रयास गरियो तर कार्यान्वयनमा तपाइँको तत्परता देखिएन भन्यौं, उत्पन्न समस्या समाधानको प्रस्ताव, योजना र सोच तपाईंसँग के छ भनेर सोध्दा उहाँले कुनै ठोस जवाफ दिनुभएन ।’ त्यस्तै, प्रधानमन्त्रीले पार्टी संकटमा छ भनेपछि हामीले त्यसो भए कसको कारणले संकटमा पर्यो त ? भनेर पनि सोध्यौं, तर उहाँले केही भन्नु भएन, पाण्डेले जनता समाचारलाई बताउनुभयो ।
आफूहरुले प्रधानमन्त्रीलाई खासगरी पार्टीमा उत्पन्न समस्या समाधानको योजना र सोच मागेको, पार्टी जोगाउन साथ दिने तर सबैभन्दा बढी भूमिका उहाँकै हुने प्रष्ट पारेको, सबै समस्याको हल बैठकबाटै हुने र त्यसका लागि क्रमशः सचिवालय, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने र पछिल्लो समय उत्पन्न सबै समस्याको कारक तपाइँ आफै भएको जस्ता विषय सुधार्न सुझाव दिएको पाण्डेले प्रष्ट पार्नुभयो ।
छलफलमा नेता नेपालले प्रधानमन्त्रीलाई पार्टी तपाइँ, मैले र केही नेताले मात्रै नभई हजारौं नेता कार्यकर्ताको सामूहिक शक्तिबाट निर्माण भएकोले उत्पन्न समस्याको पनि सामूहिकताबाटै समाधान खोज्नुपर्ने बताउनु भएको थियो । दुई जना मिल्ने र तेस्रोलाई एक्ल्याउने गतिविधि नगर्न ओलीलाई नेपालकोे सुझाव छ ।
प्रधानमन्त्रीका लागि चुनावपछि र पार्टी अध्यक्षका महाधिवेशन
छलफलमा ओलीले राजदूत, मन्त्री र नियुक्ति पाएका विभिन्न व्यक्तिका बारेमा त्यस्तो जिम्मेवारी दिनुपर्ने कारणबारे स्पष्टीकरण दिन खोजेको र प्रधानमन्त्रीका लागि अर्को चुनावपछि र पार्टी अध्यक्षका लागि महाधिवेशनमा तयारी गर्न नेता नेपाललाई सुझाव दिएको पाण्डेको भनाइ छ ।छलफलमा प्रधानमन्त्रीले आफूलाई पार्टीकै नेताहरूबाट असहयोग भएको भन्दै अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाउने परम्पराअनुसार केहीमै बैठक बोलाइने पनि बताउनु भयो ।
पार्टीमा पछिल्लो समय गुटगत तिक्तता चुलिनुको कारण मदन भण्डारी फाउण्डेशन भएको र त्यसका गतिविधि रोक्न नेताहरुले गरेको आग्रहलाई प्रधानमन्त्रीले सिधै अस्वीकार गर्नुभएको छ । छलफलमा सहभागि नेताहरु भन्छन्, ‘ओलीले फाउन्डेसनको गतिविधि रोक्नै नमिल्ने बरु विस्तार गरिन्छ भन्नुभयो ।’
नेकपामा आन्तरिक विवाद चुलिएपछि पार्टीका औपचारिक बैठकमा मात्रै भेट्ने गरेका प्रधानमन्त्री ओली र नेता नेपालबीच कात्तिकमा मात्रै ४ पटक भेटवार्ता भइसकेको छ । आइतबारको छलफलमा प्रधामन्त्रीले समस्याको ठोस समाधान दिने कुरा नगरेपछि यस्तो ‘ह्यानत्यान’ कुरा गरेर हुँदैन भुन्दै आफूहरु फर्किएको स्थायी समिति सदस्य पाण्डेले बताउनुभयो ।