जनता समाजवादी पार्टी (जसपा) का नेता राजाराम पासवानले पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी परित्यागको घोषणा गरेका छन्। सोमबार सर्लाहीको नवलपुरमा पत्रकार सम्मेलन आयोजना गरी पार्टी छाडेको घोषणा गरेका हुन्।
सर्लाही नवलपुर निवासी पासवान पार्टी एकीकरण हुनुपूर्व राष्ट्रिय जनता पार्टी (राजपा) केन्द्रीय सचिव हुन्। समाजवादी पार्टीसँग एकीकरण भएपछि भने पासावनको पद तोकिएको थिएन। चमार, मुसहरको बस्तीमा डोजर चल्दा, भोकले दलित मर्दा तथा हिरासतभित्रै मारिँदा, दलित चेली बलात्कृत हुँदासमेत केही नबोल्ने र पारिवारिक तथा जातीय स्वार्थ पूरा गर्ने पार्टीमा बस्न उचित नठानेर पार्टी परित्याग गरेको पासवानले पत्रकार सम्मेलनमा जानकारी दिए।
मधेशवादी नेताहरुले मधेसी जनतालाई मधेस र मधेसीको नारामार्फत भुलभुलैयामा पारेर भजाउने काम मात्र गरेको आरोप लगाए। उनले ‘मधेशी, दलित, जनजाति, मुस्लिम लगायत पिछडावर्ग समुदायको बलिदानीको जगमा राजनीति गर्ने तर पार्टीको कार्यकर्ता नै नरहेका तथा आफ्ना श्रीमती, भाइ, भतिजा, साला साली, सम्धी, सम्धिनीलाई अवसर प्रदान गर्ने चरम नातावाद देखियो’, पासवानले दाबी गरे, ‘सत्ता र शक्तिका लागि सौदाबाजी गर्ने तथा ठूलो रकमको चलखेलबाट पार्टीको कार्यकर्ता नै नभए पनि समानुपातिक सांसद् लगायतमा मनोनित गर्ने विकृति देखिएको छ।’
जसपा लगायत अन्य राजनीतिक दलका नेताहरु दलितलाई केवल भर्याङ बनाएर शक्तिमा पुग्ने खेलमा लागेको उनको आरोप छ।