एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
२००७ सालको आन्दोलनको फलस्वरुप १ सय ४ बर्ष लामो राणशासन समाप्त भई प्रजातान्त्रिक व्यवस्था शुरु भएको दिनको सम्झनामा प्रत्येक बर्ष फागुन ७ मा यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरी, दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । उहाँले विभिन्न चरणमा हालै सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेश अनुरुप मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार्न तथा विकास र समृद्धी ल्याउन आफ्नो सरकार दृढ रहेको बताउनुभएको छ । उहाँले वित्तीय अनुशासन र मितव्ययीता कायम गर्दै जनताको चाहानाअनुसार विकास कार्यक्रमलाई तीब्रता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।