दार्चुलाको व्याँस गाउँपालिकाले लिम्पियाधुरासम्म पैदल मार्ग विस्तार गर्ने भएको छ। भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको स्वामित्वमा रहेको हालको सीमा गाउँ छाङरु र तिंकर व्याँसको १ नम्बर वडामा पर्छ। एक नम्बर वडाकै यी भूभागलाई लिएर नेपालको भारत र चीनसँग विवाद छ।
दुई छिमेकीसँग विवाद रहेकै अवस्थामा व्याँस गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई प्राथमिकतामा राखेको हो।
गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीका अनुसार भारत र चीनसँग जोड्ने यहाँका सीमा गाउँमा बाटोलाई विशेष जोड दिइएको छ। त्यसैगरी अतिक्रमित भूमि तथा सीमा गाउँमा बस्ने नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ।
जसअनुसार कालापानीमा अतिक्रमित नेपाली गाउँ गुञ्जी, नाबी र कुटीका बासिन्दालाई नेपाली नागरिकता वितरण गर्ने प्रक्रिया सुरु भइसकेको छ। तर, अहिलेसम्म नागरिक लिनका लागि कोही नआएको गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिए। त्यहाँका बासिन्दालाई सहज रुपमा नागरिकता दिने रणनीति गाउँपालिकाले लिएको छ।
गाउँपालिकाले कालापानी र लिपुलेक नाकामा छोटी भन्सार स्थापना गर्ने, कैलाश मानसरोवरसम्म जाने बाटो विस्तार लगायत थुप्रै योजनाहरु अघि सारेको छ।
सरकारले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नक्सामा समावेश गरिसकेको छ। भारत र चीनसँग कुटनीतिक वार्ताबाट स्वामित्व फिर्ता लिन पहल भइरहेको छ। तर, उक्त भूमिमा नेपाली नागरिक तथा सुरक्षाकर्मीलाई पनि जान दिइएको छैन। यस्तोमा नागरिकता वितरण गर्ने र लिम्पियाधुरासम्म पैदल मार्ग विस्तार भने चुनौतीपूर्ण छ।
यद्यपि पछिल्लो समयले राज्यले अतिक्रमित भूमिलाई प्राथमिकता राखेका बेला असम्भव भने छैन। गाउँपालिकाले अतिक्रमित क्षेत्र नजिकै खटिने सुरक्षाकर्मीको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ।
बुँदामा गाउँपालिकाको प्राथमिकता
– भारत र चीनसँग जोडिएका नाकाहरुमा छोटी भन्सार कार्यालय पुनर्स्थापना र सञ्चालनका लागि संघीय सरकारसँग विशेष पहल गर्ने।
– समारिक महत्व बोकेको एवं त्रिदेशीय सीमामा अवस्थित र दशकौदेखि अतिक्रमित राष्ट्रिय भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरासहित समग्र व्यास गाउँपालिकाको परिचय झल्किने डकुमेन्द्री निर्माण गर्ने।
– ब्यास गाउँपालिका वडा नम्बर १ अन्तर्गत रहेका सुरक्षा निकायलाई बाह्रै महिना उक्त क्षेत्रमा सहज उपस्थितिका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्ति, सञ्चार सेवा लगायतका सेवा प्रवाहमा सहयोग तथा सहजताका लागि विशेष जोड दिने ।
– भारतद्वारा अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली नागरिकता लिन चाहेको खण्डमा नेपाली नागरिकताको सिफारिसका लागि पहल गर्ने ।
– यस पालिका अन्तर्गतका हरेक वडाका विभिन्न वस्तीहरुलाई देशकै विशेष सामरिक महत्व बोकेको दार्चुला तिंकर सडकसँग जोड्नेगरी सडक पूर्वाधार निर्माण गर्ने ।
– ब्यास गाउँपालिकाभित्र बसोबास गर्ने आमनागरिकको आवश्यकता अनुरुप सञ्चारमा सहज पहुँच पुर्याउन मुख्य मुख्य स्थानमा टेलिकम टावर निर्माण तथा क्षमता अभिवृद्धि गर्ने र इन्टरनेट सेवामा पहुँच अभिवृद्धि गर्न फोरजी सेवा सञ्चालन गर्ने ।
– त्रिदेशीय सीमा क्षेत्रमा बस्ने जनतालाई स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गराउन घोरेटो बाटो निर्माण कार्यलाई प्राथमिकता दिई सेवा प्रवाहलाई सहजीकरण गर्ने ।
– जटिल भू धरातल र जोखिमयुक्त ठानिने व्यास तिंकर पदमार्गको स्तरोन्नती कार्यलाई निरन्तरता दिने।
– देशकै सामरिक महत्व बोकेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पैदल मार्ग विस्तार गर्न विशेष पहल गर्ने।
– दार्चुला तिंकर सडक खण्ड तीव्र गतिमा विस्तार तथा स्तरोन्नतीका लागि विशेष पहल गर्ने।
– कैलाश मानसरोवरसम्म पुग्ने द्रुतमार्ग निर्माणको लागि टिमुरबाटादेखि बाननी हुँदै मालसम्मको सडक विस्तारका लागि पहल गर्ने।
– कैलाश भूमि पवित्र भूमि लिपुलेक, लिम्पिधाधुरा, कालापानी हाम्रो भूमि सम्बन्धी राष्ट्रिय रुपमा पर्यटन विकासका लागि प्रचार प्रसार गर्न एवं सहज आवत जावतका लागि उक्त क्षेत्रमा पुग्ने घोरेटो बाटो निर्माण तथा स्तरोन्ती गर्ने काममा उल्लेख्य रुपमा निरन्तरता दिने । पहिलोपोष्ट