नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विरुद्धको युद्ध आफूहरुले जित्नुपर्ने बताएका छन्।
प्रज्ञा प्रतिष्ठानमा आयोजित जनयुद्धको हस्ताक्षर पुस्तकको विमोचन कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले भइरहेको संघर्षलाई युद्ध कै संज्ञा दिँदै त्यसलाई जित्नुपर्ने बताएका हुन्।
‘अर्को पक्ष हतियारसहित युद्धमा छ। सेना प्रहरीसहित। हामी शन्तिपूर्ण युद्धमा छौं। तर अहिलेको युद्ध हामिले जित्नुपर्छ। अदालतप्रति विश्वास छ। अहिले यो युद्ध नै हो तर शान्तिपूर्ण। यो हामीले जित्नुपर्छ,’ उनले भने।
प्रचण्डले पार्टी निकै ठूलो मेहनत गरेर एक गरेको भन्दै त्यसलाई फुटाउन ठूलो षड्यन्त्र भइरहेको दाबी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै विघटनको बाटोमा पुर्याएको समेत बताए।
कार्यक्रममा उनले जनयुद्धमा संवेगको मात्रा धेरै माथि भएको भन्दै पुस्तकमा जनयुद्धको बेलाको आवेग उल्लेख भएको बताए। सामन्तवादको विरुद्ध बेलाबेलामा सशस्त्र संघर्ष भएको भन्दै जनयुद्ध अघि पनि हतियार उठाइएको उनको तर्क थियो।
आफूलाई अरु देशमा भएका युद्धका आधारमा नेपालमा युद्ध गर्न सकिँदैन भन्ने लागेको भन्दै उनले भने, ‘जनताका भाषा शैलीलाई कसरी प्रयोग गरियो मेरो ध्यान गयो। पृथ्वीनारायण शाहको यद्धकलाका बारेमा बढी जानकारी लिएँ। नेपालमै कसरी युद्ध भयो भन्ने मेरो अध्ययन रह्यो,’ उनले भने।
शाहले गरेको त्याग नेपाल निर्माण भएको र त्यसपछिको ठूलो युद्ध नै जनयुद्ध भएको उनको दावी थियो। उनले शान्ति प्रक्रियामा आफूहरु सहमति गरेको आएको समेत स्मरण गराए।
‘हामी शान्ति प्रक्रियामा पूरै विजयी भएर आएको होइन। सम्झौता गरेर आएको हो। कतिपयले यसलाई स्वीकार्न सक्दैनन्,’ उनले भने।
अझै जनयुद्ध केही समय भएको भए नेपालको अवस्था पेरुको जस्तो हुने सम्भावना भएको उनको भनाइ थियो।
‘चुनावी बैठक नै अन्तिम भयो। त्यसपछि जाँदै गर्दा बाटोमै गिरिजाप्रसाद कोइराला र माधव नेपालसँग वार्ता भयो र युद्धविराम भयो। त्यसले राजतन्त्रलाई रक्षात्मक बनाइदियो,’ उनले भने।-philopost.com