सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन बहुमत सचिवालय सदस्यहरूको साझा र सामूहिक दस्तावेज भएको बताएका छन्।
अध्यक्षले प्रचण्डले एकतर्फी प्रस्ताव पेस गरेको र राजनीतिक दस्तावेजका नाममा अभियोग पत्र नै प्रस्तुत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष आक्रोशित बनेको छ । ओली पक्षले त राजनीतिक प्रस्तावलाई फुटको आधारसमेतको संज्ञा दिएको छ ।
तर, वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव र त्यसका अन्तरवस्तु जायज भएको बताएका छन् । नेता खनालले प्रचण्डसहित पाँचजना नेताले सहमति गरेर सामूहिक रूपले अगाडि सारेको प्रस्ताव भएको बताएका छन् । “प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा जस्ता गल्ती गर्नुभएको छ, सबैकुरा उहाँले सच्याउन तयार हुनुपर्छ । उहाँले निकास दिने मार्गदर्शन गर्नुपर्छ ।”
अहिलेको सङ्कट कसरी समाधान हुन्छ भनेर मार्गप्रशस्त गर्ने काम पनि ओलीले नै गर्नुपर्ने खनालको भनाइ छ ।नेकपा सचिवालयको बैठक मङ्सिर ३ गतेलाई डाकिएको छ । ओली पक्ष भने ३ गतेको बैठक सार्ने तयारीमा रहेको र अरू विकल्पबारे सोचिरहेको नेताहरू बताउँछन् । ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेर परामर्श गरेका छन् ।
२९ कार्तिक २०७७, बाह्रखरीमा प्रकाशित ।