सोमबार काठमाडौंको प्रहरीले ८८ किलो सुन फेला परेको समाचार सार्वजनिक भएसँगै अहिले सुनकै सनसनी छ जताततै । यस अगाडि विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पर्दा समेत यस्तै सनसनी थियो ।
दुबईबाट विमानस्थलको भन्सार र प्रहरी समेतको संलग्नतामा भइरहेको तस्करी सार्वजनिक भएपछि अब चै सुन तस्करी गरेर मोटाएका प्रतिष्ठितहरु नाङिने धेरैको आशा थियो । तर मुल नाइकेको रुपमा दुबईतिर काम गरिरहेकाहरुको नाम आउँदा धेरैले पत्याउन सकेनन् । तर प्रहरीको विवरणमा कामदार भएर दुबई पुगेकाहरुको इतिबृत्ती भने थियो ।
काठमाडौंभित्रिएको सुन मोटोमुनी पुरिने हैन । केही नेपाली बजारमै भिज्छन् व्यवसायी मार्फत । केही सेटिङमा भारत पुग्छन् । नेपाली बजारमा तस्करीको सुन फैलाउन संलग्न नभएका सुन व्यवसायी कमै होलान् । भारत पू¥याउन अर्कै गिरोह सक्रिय हुन्छन् नै ।
तस्करीमा केही व्यवसायी नपोलिएका हैनन । पक्राउ नपरेका पनि हैनन् । तर जो जति पक्राउ परेका छन् ती पनि कामदार तहकै नै बढी छन् । केही घटनामा दोस्रो तहका कारोबारीसम्म प्रहरी पुगे पनि पहिलो तहसम्म प्रहरी पुगेको छैन ।
जसले गर्दा सुन भित्र्याउने गिरोहका नाइकेहरु मस्तिमै छन् भने केही कमिसनको लोभमा सुन बोक्न तयार हुने घुनवालाहरु कारागार पुग्ने गरेका छन् । चीनबाट नेपालमा सुन पठाउने, नेपालमा भण्डारण र वितरण गर्ने र भारतमा सुन लिने यो तीन तहमा रहेकाहरु एक दशकदेखि सुरक्षित नै छन् ।
जो पक्राउ पर्छन् ती सहयोगी हुन्छन् । ठुलो परिमाणको सुन फेला परेको केही समय तस्करमा संलग्न मौन बस्छन् । यो विचमा नयाँ सहयोगी फेला परिहाल्छन् र फेरी शुरु हुन्छ सुन तस्करी ।
८८ किलो सुनको प्रारम्भिक अनुसन्धान पनि घुनमै समेटिएको छ । गाडि लिन गएका केही चालक फन्दामा परेका छन् । व्यवसायीको आवरणमा काठमाडौंमा बसेका केही चिनिया नागरिकको नाम तस्करीमा तानिएको छ ।
तर तस्करीको सञ्जाल र जालो, बजारमा वितरण र भारत पू¥याउने शैलीले ८८ किलोको अनुसन्धान अधिकतम सफल भए उही नेपालसम्म भित्र्याउनेमै समेटिने देखिन्छ ।
महिनामा आउँछ ४ सय ५० किलो
व्यवसायीहरुकै दावी अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ किलोसम्म सुन खपत हुन्छ । यो सामान्य अवस्थाको माग हो । तिहार र विवाहको सिजनमा माग दोब्बर हुन्छ । आधिकारीक रुपमा नेपालमा सुन ल्याएर विक्री गर्ने अनुमती पाएका बाणिज्य बैंकहरुले दैनिक १५ किलो मात्रै उपलब्ध गराउँछन् । बजार फर्कने पुरानो सुन त्यस्तै १५ किलो हुनेगर्छ ।
यो आंकडाले दैनिक १५ किलो सुन अभाव हुने देखिए पनि नेपालको कुनै बजारमा सुनको अभाव देखिन्न । यो आंकडाले बजारमा दैनिक १५ किलोको माग तस्करीको सुनले धानेको प्रष्टै देखिन्छ । भारत पुग्ने सुनको परिमाण नगन्ने हो भने पनि यो तथ्यांक अनुसार महिनामा ४ सय ५० किलो सुन तस्करीबाटै आउने गरेको देखिन्छ ।
तस्करको दशा विग्रियो या सेटिङ भत्कियो भने फाट्टफुट्ट फेला पर्ने गर्छ सुन । साढे ३३ किलो फेला परेको ७ महिनापछि भदौंमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले १५ र महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो फेला पार्यो । सुनको माग हेर्दा यो विचमा ३ हजार एक सय ५० किलो त बजारमै पुग्यो । यो विचमा फेला पर्यो एक सय ३ किलो । तै पनि आम्मा मा ८८ किलो भनेर हामी जिब्रो टोकिरहेका छौं ।
किन भत्कदैन जालो
कानुन कार्यान्वयन गर्ने सरकारी निकायका अधिकारीको संरक्षण नभई कुनै पनि प्रकृतीको अपराधले संगठित स्वरुप लिन सक्दैन । अपराधमा मुख्यत सुरक्षा निकाय, कानुनी निकाय, र गृहको प्रशासनिक निकायमा आवद्ध ब्यक्तिको संरक्षणविना सुन होस् या नुन तस्करी त्यसले संगठित आकार लिन सक्दैन ।
अनुसन्धानमा संलग्न अधिकांशको डायरीमा को सुन तस्करीमा संलग्न छन्, को डलर तस्करी गर्छन् अनी को हुण्डीतिर लागेका छन् तीनका लामै लिष्ट हुन्छ । तस्कर समूहले आफु अनुकुल काम गराउन प्रभाव पार्नसक्ने जिल्लाको सुरक्षा प्रमुख देखि प्रशासन प्रमुखसम्म आफु अनुकुलको लैजाने ल्याकत राख्छन् । कोही बाउँठिए सरुवाको विकल्प छैन ।
यो अनुसार तस्करलाई प्रशासन, सुरक्षा संगठन र व्यापारीको आवरणमा रहेका सुन कारोवारी तीनै तहकाले संरक्षण गरेको प्रष्टै देखिन्छ ।
३३ किलो सुनमा प्रहरी र भन्सार कर्मचारीको पोल खुल्यो । यो भन्दा अगाडि विमानस्थलमा विदेशी मुद्राको तस्करीमा एसएसपी रविराज श्रेष्ठको पोल खुलेको थियो ।
यिनलाई दशा लागेर तस्करीको संरक्षणमा संलग्न केही प्रहरी अधिकारी र भन्सारका कर्मचारीको पोल खुलेको हो । साढे ३३ किलो तस्करीमा संलग्नको अभियोगमा पक्राउ परेका अधिकांश धरौटीमा छुटे । यो मात्रै हैन अधिकांश सुन तस्करीमा पक्राउ परेकाहरु कमै मात्रै जेलसम्म पुग्छन् । यसले कानुनको कार्यान्वयनको पाटो देखाउँछ नै ।
उनीहरुमाथी पनि संरक्षक नहुने कुरै भएन । तर ती सबै जोगिदै आएका छन् । जवसम्म संरक्षित सेटिङ भत्कन्न तवसम्म जोगिने र जोगाउने यो खेल जारी नै रहनेछ । हजार किलोको संख्यामा सुन आइरहन्छ । सयको संख्यामा पक्राउको सूचनाले सनसनी ल्याइरहन्छ। मेराे सहर डटकमबाट