सुरक्षा विज्ञ समेत रहेका नेकपाका सांसद दिपकप्रकाश भट्टले विपत व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयकै निकायलाई दिनुपर्ने टिप्पणी गरेका छन् । रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस विरुद्धको अभियान सरकारले चलाईरहेका बेला सांसद भट्टले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारको आगामि वर्षको बजेटमाथि प्रतिनिधिसभामा भईरहेको छलफलमाथि टिप्पणी गर्दै कन्चनपुरका सांसद भट्टले नेपालको कानूनले विपद व्यवस्थापनको जिम्मा गृहलाई दिएकोमा हतार हतार रक्षालाई दिईएको बताए । सांसद भट्टले भने, ‘कोभिड १९ विरुद्धको अभियानमा विपद् व्यवस्थापनको जिम्मा र फोकल मन्त्रालय गृहमन्त्रालय हुनुपर्दथ्यो । हतारमा रक्षा मन्त्रालयलाई जिम्मेवारी दिने काम भयो । अझै पनि विग्रेको छैन । गृहका संरचनाहरुलाई परिचालन गरौं । स्वास्थ्य आपतकाल घोषणा गरेर कोरोना विरुद्धको अभियान प्रभावकारी बनाऔं ।’ सुदुरपश्चिममा अहिले ६२ हजरा प्रवासी नेपाली नेपाल प्रवेश गरेको तथ्य अघि सार्दै सांसद भट्टले भने, ‘उनिहरुलाई न्यूनतम सुविधा दिने अवस्थामा अहिले पनि सरकार छैन । आरडिटी परिक्षणले तनाव मात्रै दिएकाले त्यसलाई रोकेर पिसिआर परिक्षण गर्नुपर्छ भनियो । सुदुरपश्चिममा मात्र हैन देशभर अव स्वास्थ्य आपतकाल घोषणा गरेर न्यूनतम सुविधा जनतालाई दिनुपर्छ ।’ बजेटमा ऊर्जा र सिंचाइका विषय ठिक ढंगले आएका उल्लेख गर्दै सांसद भट्टले भने,’ महाकाली सिंचाइ आयोजना अब कार्यान्वयन होस ।
राष्ट्रिय विकास नीति ल्याएर जनप्रतिनिधिहरुले विकासका बहसमा भाग लिने अवस्था बनेको छैन । विकास बहस गर्ने वातावरण ल्याउन र विकासका लागि माननीयहरु मन्त्रालय धाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ प्रबुद्ध समूहको नेपाल भारतको रिपोर्ट भारतका प्रधानमन्त्रीले नबुझ्ने हो भने नेपालका प्रधानमन्त्री मात्रैले भएपनि बुझ्नु पर्ने उनले बताए । ‘जनतालाई भन्नु पर्छ र नेपाल भारतका सवै समस्या सम्बोधन गर्न अघि बढ्नु पर्छ । सगरमाथा सम्बादका विषय पनि भर्चुअल विधिबाट भएपनि अघि बढाउनु पर्छ ।’