संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको बताएका छन्।शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी समित सदस्य सुरेन्द्र पाण्डेमाथि पार्टीकै अर्को समूहका कार्यकर्ताहरुद्वारा भएको दुर्व्यवहारतर्फ संकेत गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्।
विमर्श, छलफल र फरकमतको सम्मान जनताको बहुदलीय जनवादको विशेषता भएको उनको भनाइ छ।‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता हो’, नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले शनिबार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।
हुलहुज्जत बहुदलीय जनबादको कोर्श होईन
बिमर्श, छलफल र फरकमतको सम्मान जबजको बिशेषता हो !— Yogesh Bhattarai (@yogesbhattarai) November 21, 2020