पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा अन्डर १६ अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बैशाख १३ बाट संचालन हुने प्रतियोगितामा प्रथम हुन टिमले ५ लाख रुपैया बराबरको पुरस्कार प्राप्त गर्ने जनाएको छ । त्यसैगरी दोस्रो हुने टोलीले साढे दुई लाख प्राप्त गर्ने छ ।
‘जित्ने टोलीलाई ५ लाख रुपैया बराबरको पुरस्कार प्राप्त गर्ने छ । यसलाई हामीले प्रत्येक खेलाडीले आधा खेलकुद सामग्री प्राप्त गर्ने छ भने आधा नगद पुरस्कार प्राप्त गर्ने छन्,’ सेन्टरका अध्यक्ष ठाकुर गैरेले भने, ‘प्रत्येक प्रदेशमा ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गरेर टिम बनाउने छौं ।’
छनोट कार्यक्रम बैशाख ६ र ७ गते हुने छ । जसअनुसार प्रदेश नम्बर एकको विराटनगर, प्रदेश २ को वीरगञ्ज, प्रदेश तीनको काठमाडौ, प्रदेश चारको पोखरा, प्रदेश पाँचका भैरहवा, कर्णाली प्रदेशका सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीम छनोट गरिने सो अवसरमा जानकारी गराइयो । ‘१४ जना खेलाडी, एक प्रशिक्ष र एक व्यवस्थापनका टोली हुने छ,’ गैरेले भने, ‘त्यसका लागि स्थानीय क्लब, क्षेत्र तथा जिल्ला खेलकुद विकास परिषद, नेपाल क्रिकेट संघसँग आवश्यक समन्वय र सहयोगमा छनोट हुने छन् ।’
प्रत्येक वर्ष आयोजना गर्ने योजना सुनाउँदै कार्यक्रम गैरेले ‘आगामी वर्षदेखि जिल्ला जिल्लामा प्रतियोगितामा आयोजना गरे खेलाडी छनोट गर्ने छौं । यसपटक भने समय अभावको कारणले सकिएन् ।’
दुइ समूहमा विभाजन गरेर आयोजना हुने प्रतियोगितामा समूह चरणमा लीग अनुसार हुने छ । शीर्ष स्थानमा रहेका दुई टोली सेमीफाइनलमा प्रवेश गर्ने छन् ।
मनमोहन अधिकारीको स्मृति दिवसका दिन अर्थात बैशाख १३ गते शुरु हुने प्रतियोगितामा बैशाख १९ गते सम्पन्न हुने छ ।