पार्टी प्रवेश गरेका नेता केन्द्रीय सदस्यमा मनोनित भएसँगै सत्तारुढ नेकपाको संगठन संरचना विस्तारित भएको छ । नेकपाले चार सय ४१ सदस्यी केन्द्रीय समितिलाई चार सय ४५ पुर्याएको छ । केही महिनाअघि विप्लव नेतृत्वको नेकपाबाट प्रवेश गर्ने पदम राई, किरण राई र नयाँ शक्तिबाट प्रवेश गर्ने देवेन्द्र पराजुली र कल्पना धमलालाई नेकपाले केन्द्रीय समितिमा नियुक्त गरेको हो ।
अन्तरिम विधानमा वाम समूहबाट एकीकरण प्रक्रियामा सामेल हुनेलाई १० प्रतिशत नबढ्ने गरी केन्द्रीय कमिटीमा मनोनित गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार उनीहरूलाई जिम्मेवारी दिइएको महासचिव विष्णु पौडेलले बताए । उता, सात केन्द्रीय सदस्यको रिक्त स्थानमा पनि पदपूर्ति बाँकी छ ।
यी हुन् जिम्मेवारी नपाउने नेता
नेकपाका केन्द्रीय सदस्यमध्ये चार सय १६ नेताले भूगोल, विभाग, मोर्चा फाँट र जनवर्गीय संगठन तथा सम्पर्क कमिटीमा जिम्मेवारी पाएका छन् । तर, चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अझै १९ नेताको जिम्मेवारी तोकिएको छैन । अहिलेसम्म ६० प्रतिशत नेतालाई भूगोलमा र बाँकी नेतालाई अन्त जिम्मेवारी तोकिएको नेकपाले जनाएको छ । कामको बाँडफाँडपछि पनि जिम्मेवारी नपाउनेमा प्रदीप नेपाल, युवराज कार्की, बिन्दा पाण्डे, युवराज चौँलागारईं, गंगा कार्की, अशोककुमार मण्डल, खगेन्द्र चुडाल, जोखबहादुर महरा, टंक आङबोहाङ (लिम्बु), दावा तामाङ, दिननाथ शर्मा, दीपबहादुर योञ्जन, धर्मनाथ यादव, पुष्पविक्रम मल्ल, मानबहादुर बुढा, लिलबहादुर थापामगर, सुकबहादुर रोका, शशी श्रेष्ठ र हिमाल शर्मा छन् ।
उनीहरूमध्ये युवराज,। कार्की र युवराज चौलागाईं तथा बिन्दा पाण्डेलाई प्रवास फाँटको जिम्मेवारी तोक्ने तयारी छ । पूर्वएमाले समूहका सिनियर नेता प्रदीप नेपालले पनि जिम्मेवारी पाएका छैनन् । पार्टीमा सक्रिय हुने रुचि नराखेका कारण उनलाई परिभाषित जिम्मेवारी नतोकिएको सचिवालयका एक नेताले बताए । ०६० सालअघि नै साविक माओवादीको केन्द्रीय कमिटीमा रहेका नेता गंगा कार्कीले कतै जिम्मेवारी पाएका छैनन् । नयाँ पत्रिका