इरानको खुजस्तान र अल्बोर्ज प्रान्तहरूमा कोरोनाभाइरसको संक्रमणलाई रोक्न भनि मदिरा सेवन गरेपछि कम्तिमा २७ जनाकाे मृत्यु भएकाे छ। इरानमा कोभिड – १९ को प्रकोपसँगै भाइरससँग कसरी लड्ने भन्ने बारेमा विभिन्न अफवाह र अवैज्ञानिक उपचार सामाजिक सञ्जालमा फैलिएका छन्। तिनीहरूमध्ये रक्सी पिउने कुरा पनि एक थियो।
आह्वज मेडिकल साइन्स विश्वविद्यालयका प्रवक्ता अली एहसानपुरका अनुसार अहवाजका केही नागरिकले मद्यपानले कोरोनाभाइरस विरुद्ध लड्न मद्दत गर्ने हल्ला सुनेपछि रोकथामको उपायको रूपमा रक्सी प्रयोग गरेका हुन्। यद्यपि इरानमा रक्सीमा प्रतिबन्ध लगाइएको छ। केहीले बजारमा सफाइ गर्ने उद्देश्यले बिक्री गरिएको औद्योगिक मदिरा (मिथाइल अल्कोहल) पनि सेवन गरिएको पाइएकाेछ।
मेह न्यूज एजेन्सीका अनुसार खुजस्तान प्रान्तमा कोरोनाभाइरसबाट संक्रमितको आधिकारिक संख्या ७३ थियो । तर, मदिराको विषाक्तताबाट २ सय १८ इरानीहरूलाई मेडिकल साइन्स विश्वविद्यालयसँग सम्बद्ध मेडिकल सेन्टरमा भर्ना गरिएको थियो।’केहीको अवस्था गम्भीर छ र पीडित मध्ये एक जना दृष्टिविहिन भएका छन्’ अली एहसानपुरले भने। यसैगरी उत्तरी प्रान्त अल्बोर्जमा, मदिराकाे सेवनले गर्दा सात जनाको मृत्यु भएको छ। दृष्टिविहिन हुने समस्या देखिएकाले पीडितहरुले मिथाइल अल्कोहल पिएका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ।
इरानले भाइरसको प्रसारलाई नियन्त्रण गर्न गम्भीर समस्याहरूको सामना गर्नुपरेको छ। देशभरिका मेडिकल कर्मचारीका लागि सेनिटाइजरकाे अभावले कोरोना भाइरसकाे रोकथाममा समस्या देखिएको छ । कमजाेर आन्तरिक व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिबन्ध दुवै कारणले गर्दा कोरोनाभाइरस रोकथामकाे क्रममा इरानको स्वास्थ्य प्रणालीलाई कमजोर तुल्याएको छ। – एबीसी न्यूज