पार्टी विभाजन रोक्न तथा एकता बचाइराख्न दबाब दिने उदेश्यले नेपाल कम्युनिस्ट पार्टी (नेपाका) ६१ जना सांसदले हस्ताक्षर गरेका छन् । आइतवार संसद सचिवालय सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले पार्टी विभाजन गर्ने क्रियाकलापमा आफूहरू नलाग्ने बताएका हुन् ।
प्रतिनिधि सभाको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका युवा नेताहरुले विभाजन रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।कार्यक्रममा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन गनै खोज्नेले २०५६ सालमा माले शून्य सीट हासिल गरेको स्मरण गर्न आग्रह गरिन् ।
‘यो अलमल के को अलमल हो ? विचारधाराको कि पदको? तपाईंहरुले हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ? सुदृढ पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ कि खरानी पार्टी बुझाउँदै हुनुहुन्छ?’ झाँक्रीले प्रश्न गरिन् ।
अर्का सांसद विशाल भट्टराईले पार्टी भित्रको विवाद गाइजात्रा जस्तो भएको भन्दै एकता बचाउनको लागि पार्टी कार्यालयमा धर्नामा बस्ने चेतावनी दिए । सांसद सुरेश राईले अहिले ६१ जनाले हस्ताक्षर गरेपनि सो संख्या बढ्ने बताए । हस्ताक्षर गर्ने सांसदहरूले अब कुनै पनि पक्षबाट चलाइने हस्ताक्षर अभियानमा आफूहरू सामेल नहुनेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए।
हेर्नुहोस् सूची