अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मातमोतका कार्यालय सहयोगी उपर झण्डै नौ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।हाल निलम्बन अवस्थामा रहे पनि मालपोत कार्यालय चाबहिलमा कार्यरत रहेका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले अवैधानिक रुपमा आठ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बस्नेत २०४५ साल कात्तिक १९ गते कार्यालय सहयोगी पदमा नियुक्त आर्थिक वर्ष २०७५र७६ सम्म कार्यरत रहँदा ७४ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ मात्र वैध ढंगले कमाएको देखिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।उक्त रकममा बस्नेतको तलब बचत आय र घरजग्गा बिक्री, सवारीसाधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा आमा टुकुकुमारी बस्नेतको पेन्सनसमेत जोडिएको छ।
कार्यालय सहयोगी बस्नेतमाथि नक्कली रसिदकाटी राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको उजुरी आयोगमा परेपछि अनुसन्धान अघि बढेको थियो। निजलाई आयोगले २०७५ पुस १५ मा ११ लाख नगदसहित पक्राउ गरेको थियो।