नेपालमा पछिल्लो २४ घण्टामा आज आइतबार थप ४ सय २५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका हुन् । यस्तै उपचारपछि निको हुनेको संख्या ९७४ पुगेको छ । आज ६१ जना निको भएका छन्।
यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएकाे छ। याे संगै कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ। उनी भारतबाट आएका थिए । उनीमा गत जेठ १२ गते रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको थियो। उनको उपचारको क्रममा जेठ ३१ गते आइसोलेसनमा मृत्यु भएको थियो । उनी क्यान्सर रोगबाट समेत ग्रस्त रहेको बताइएको छ।
हालसम्म नेपालमा कोभिड १९ बाट सिन्धुपाल्चोक, बाँके, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, पर्सा र गुल्मीका संक्रमितको मृत्यु भएको छ । अन्य जिल्लामा १/१ जनाको र बारा एवं गुल्मी जिल्लामा २/२ जना संक्रमितको मृत्यु भएको छ ।