एकीकृत नेकपालाई सर्वोच्च अदालतले भंग हुने फैसला गरि साविक पार्टीमै रुपान्तरण गरेपछि राजनीतिमा अनेक तरंकहरू जान थालेका छन् । मागदाबी विपरीतको फैसलाले अनेक अड्चनहरू निम्त्याउने भएको हो ।
सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले साविक एमालेभित्र झन् ठूलो तरंग गएको हो । तर एमालेमा नै फर्केपछि थुप्रै एमालेका नेताले राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ । साविक एमालेको विधानमा ७० वर्षपछि सक्रिय राजनीतिबाट विदा लिनु पर्ने बाध्यत्मक व्यवस्था छ । एमालेको विधानमा केन्द्रदेखि जिल्ला तहका पदाधिकारी एक पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि रहेको छ । पार्टीको नवौं महाधिवेशनमा तत्कालीन सचिव तथा संगठन विभागका प्रमुख युवराज ज्ञवालीले तयार पारेको विधान महाधिवेशनबाट पारित भएको थियो ।
विधानमा ७० वर्ष नाघेका पार्टी पदाधिकारीमा बस्न नपाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण नवौं महाधिवेशनमा भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, साहना प्रधान लगायतले सक्रिय राजनीतिबाट सन्यास लिुनपरेको थियो । एमालेले ७० वर्षभन्दा माथिकालाई जेष्ठ कम्युनिस्ट मञ्च बनाएर व्यवस्थापन गर्दै आएको छ । सन्यास लिनेमा यि शीर्षस्थ नेता वामदेव गौतम : एमालेका उपाध्यक्ष वामदेव गौतमको जन्म २००५ साल २८ असारमा भएको हो । उनी एमालेको नवौं महाधिवेशन पछि पार्टीमा सक्रिय राजनीति गर्न पाउँदैनन् थिए तर ०७५ साल ३ जेठमा तत्कालीन माओवादी केन्द्रसँग एकता भएपछि ७० वर्षे उमेर हद विधानबाट हटाइयो । जसकारण नेकपामा गत वर्ष गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुख थिए । उनी अहिले ७२ वर्षका भए । स्वत: राजनीतिबाट ‘आउट’ हुनेछन् ।
केपी ओली :
एमालेको नवौं महाविधेशनबाट अध्यक्षमा निर्वाचित भएका ओलीको जन्म २००८ साल ११ फागुनमा भएको हो । उनी महाविधेशनमा अध्यक्ष हुँदा ६३ वर्षका थिए । अहिले ओली ६९ वर्षमा लागेका छन् । उनले पनि एमालेको विधानअनुसार एक वर्षपछि राजनीतिबाट सन्यास लिनु पर्ने हुन्छ । राजनीतिबाट सन्यास लिनुपर्नेमा गौतम पछि ओली दोस्रो नम्बरमा पर्छन् ।
माधवकुमार नेपाल : तत्कालीन एमालेका नेता मावधकुमार नेपालको जन्म २००९ साल २३ फागुनमा भएको हो । उनले नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । उनी एमालेको अध्यक्षको उमेदवार हुँदा ६२ वर्षका थिए । अब एक वर्षमा महाविधेशन भएमा उनी ६९ वर्षका हुने छन् । उनी अब २ बर्ष सक्रिय राजनीति गर्न पाउने छन् ।
झलनाथ खनाल : एमालेको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका खनालको जन्म २००९ साल २६ फागुनमा भएको हो । उनी अहिले ६९ वर्षका भए । नेकपा एमालेको विधानअनुसार उनी पनि एक वर्ष सक्रिय राजनीति गर्न पाउने छन् ।
ईश्वर पोखरेल : एमालेका महासचिव पोखरेलको जन्म ०१० साल २२ माघमा भएको हो । उनी अहिले ६८ वर्षका भए । उनी पनि सक्रिय राजनीतिबाट दुई वर्षपछि हात धुनुपर्ने छ ।