नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा आगामी कात्तिक १ र २ गते काठमाडौंमा ‘आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ ।विश्वका विभिन्न मुलुकमा भएका आदिवासी जनजाति संगठनहरुबीच सांगठनिक सम्बन्ध निर्माण गर्ने र आदिवासी आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य राखेर पहिलोपटक सम्मेलन गर्न लागिएको हो ।
महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सम्मेलनको उद्घाटनसत्र राष्ट्रिय सभागृहमा गरिने बताए । बन्दसत्रका लागि भने अन्य उपयुक्त स्थानको खोजी भइरहेको उनले बताए ।सम्मेलनमा करिब ३०० जना प्रतिनिधिहरु सहभागी हुनेछन् । महासंघअन्तर्गत हाल विश्वका २३ वटा देशमा संगठनहरु छन् । प्रत्येक देशबाट दुई महिलासहित कम्तिमा चार जना प्रतिनिधि सहभागी हुनेछन् ।
महासंघ अन्तर्गतका ५६ जातीय संस्थाबाट दुई/दुईजना, १२ वटा सम्बन्धन संगठनबाट दुई/दुईजना, नेपालका सातवटै प्रदेशबाट दुई/दुईजना, महासंघका पूर्व अध्यक्ष, महासचिवहरु, आदिवासी विज्ञ अगुवाहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् । उद्घाटनसत्रको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनलाई बनाउने तयारी गरिएको समाचार सार्वजनिक डटकममा छ।