आइतबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् ।बुकिङ खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेको छ।एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
यस्तो छ नयाँ भाडादर हेर्न क्लिक गर्नुहोस्
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ ।अहिले पनि बढी भाडादर असुल्ने क्रम रोकिएको छैन । त्यसैले भाडादरबारे यात्रुहरु पनि जानकार रहनुपर्ने विभागले बताएको छ । यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्न नहुने विभागले बताएको छ ।